क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको निधन

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा  निधन भएको छ ।  ८९ वर्षीय शाह लामो समयदेखि मुटु रोगबाट ग्रसित थिए । उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो ।

एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो ।  उनको उपचार डाक्टर पंकज जलान र डाक्टर राजीव झाले गरिरहेका थिए । शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनी लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे ।

उनी संघको नेतृत्वमा आउनुअघि राष्ट्रिय खेलाडी समेत थिए । उनले ४० वर्ष नेतृत्व गरेको नेपाल क्रिकेट संघ गत वर्ष आइसीसीको निलम्बनमा परेपछि अहिले अपांग भएको छ । गत भदौ ६ गते काठमाडौंमा सम्पन्न नेपाल क्रिकेट संघको बिशेष साधारणसभामा बिशेष अतिथिको रुपमा उपस्थित भएका उनले क्रिकेटको भविश्यप्रति चिन्ता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस