सामाजिक सुरक्षण सुविधा बृद्धि गर्दै कर्मचारी सञ्चय कोष

कर्मचारी सञ्चय कोषको ८ वटा शाखा कार्यालयमध्ये कोहलपुर शाखाले आर्थिक वर्ष ०७३/०७४ मा सञ्चयकर्ताहरुलाई कोष भुक्तानी, लगानी एवम् सामाजिक सुरक्षण सुविधा शिर्षकमा १ अर्ब २२ करोड बढि रकम कारोबार गरेको शाखाले जनाएको छ ।
११ हजार ६ सय ११ जना सञ्चयकर्ता हरुलाई संचित रकम र विशेष सापटीको रुपमा १ अर्ब १४ करोड भुक्तानी र सापटी प्रदान गरेको कार्यालयले जानकारी दिएको छ । यस्तै अघिल्लो आर्थिक वर्षभरी १ हजार ३ सय ६ जनालाई सञ्चयकर्ताहरुलाई सामाजिक सुरक्षण सुविधाका रुपमा सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान योजना र कर्मचारी कल्याणकारी सुविधाहरुहरुमा १ करोड २४ लाख बराबरको सुविधा उपलब्ध गराएको छ । कार्यालय प्रमुख महेन्द्र राज शाक्यका अनुसार अघिल्लो आथिर्क वर्षमै ५३ जना सञ्चयकर्तालाई घरजग्गा धितो लिई नयाँ घर निर्माण गर्न सापटी कर्जा र ७ गरी ६२ जना सञ्चयकर्ताहरुलाई ७ करोड ३८ लाख ६७ हजार बराबरको शैक्षिक तथा घर मर्मत स्वरुप कार्यालयले ऋण सुविधा समेत उपलब्ध गराएको छ ।
सञ्चयकर्ताहरुलाई बढि भन्दा बढि सामाजिक सुरक्षण सुविधा दिने गरी कर्मचारी सञ्चय कोष ऐन शंसोधन पछि कार्यक्षेत्र तथा सञ्चयकर्ताको दायरा विस्तार हुने प्रमुख शाक्यको भनाई छ । हालै कर्मचारी सञ्चय कोष ऐन २०१९ मा भएको दशौं संशोधनले कोषको कार्यक्षेत्र, सञ्चयकर्ता दायरा विस्तार लगाएको क्षेत्रमा थप कार्य गर्ने गरी कानुनी आधार सहित ऐन संशोधन भएको उनको भनाई छ । उनका अनुसार कोषको ऐनमा भएको नयाँ व्यवस्थाले देशको पूर्वाधार विकासका लागि जलविद्युत उत्पादन कम्पनी लि. र वेतन कर्णाली जलविद्युत आयोजनामा शेयर लगानी प्रारम्भ गर्दै अन्य कार्यक्रम तथा योजनाहरु सञ्चालनको गृहकार्य भइरहेको छ ।
यस्तै कोहलपुर शाखाको कोहलपुरमा कार्यालय भवनको शिल्यान्यास यसै आर्थिक वर्षमा गरिने भएको छ ।
कोषको ५६ औं वार्षिक उत्सवको अवशरमा विहिवार पत्रकारहरुसँग कुरा गर्दै शाखा प्रमुख शाक्यले ०७४ जेठ १० गते कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयको उत्तर पट्टि रहेको ६ कठ्ठा जमिन खरिद गरेको जानकारी दिँदै भवन निर्माणका लागि नक्सांकनको काम
भइरहेको जानकारी दिए । भवन निर्माणका लागि यसै आर्थिक वर्षमा टेण्डर प्रक्रिया अगाडी बढ्नेछ र शिल्यान्यास पनि यसै आर्थिक वर्षभित्र गर्ने तयारी हामीले गरिरहेका छौ । शाखा प्रमुख शाक्यले भने ।


यस्तै कोषको ५६ औं वार्षिक उत्सको अवशरमा कोहलपुर शाखा कार्यालयले विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने भएको छ । कर्मचारीहरुबीच चेस, क्यारेमबोर्ड, ब्याडमिन्टन, दौड, घैंटो फुटाउने र मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने कार्यालयले जनाएको
छ । कोषको उद्देश्य र लक्ष्य अनुरुप सामाजिक सुरक्षण कार्यक्रमलाई सहयोग पुग्ने गरी आज (शुक्रवार) विहान कार्यालय प्राङ्गण देखि गोलपार्क परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिने बताइएको छ । यस्तै ३१ गते कार्यालय प्राङ्गणमा निशुल्क स्वास्थय परिक्षण कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस