लगातार पर्नथाले आक्रमणमा जनप्रतिनिधी र कर्मचारीहरु

दैलेख जिल्लाको  दुल्लू नगरपालिका वडा नं. ११ का वडाध्यक्षमाथि आक्रमण भएको छ । भैरव आधारभूत विद्यालय लामागडा स्थित क्वारेन्टिनमा बसेका करिब आधा दर्जन यूवाहरुले वडा अध्यक्ष खगेन्द्र थापा लाई आक्रमण गरेका हुन् । क्वारेन्टिनबाट बाहिरै आएर उनीहरुले वडाअध्यक्षमाथि हातपात गरेका हुन् । वडाकै अर्को क्वारेन्टिन ज्वाला आधारभूत विद्यालयबाट दाल चामल आफुहरुलाई दिएको आरोपमा उनीहरुले आक्रमण गरेको अध्यक्ष थापाले बताएका छन् । उनीहरुले लगाएको आरोप गलत भएको र उनीहरुलाई सम्झाउन खोज्दा आक्रमण गरेको उनले दुखेसो गरेका छन् । अध्यक्ष थापाले भने ‘निराधार र शंकाको भरमा आरोप लगाएका हुुन्, उक्त क्वारेन्टिनबाट दाल चामल केही चिज पनि चलाइएको छैन, यदि गलत गरेको भए कानुनी कारवाही भोग्न तयार छु’ । थापाले यसको निश्पक्ष छानविन र दोषीलाई कारवाहीको पनि माग गरेका छन् । आक्रमण पछि इलाका प्रहरी कार्यालय दूल्लुको टोलीले उद्दार गरेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लामा क्वारेन्टिनमा खटिने जनप्रतिनिधी र कर्मचारीमाथी आक्रमणका घटना बढ्दै गएको छ । केहि समय अघि भैरवी गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि पनि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस