४० पिन्ट रगत संकलन

कोभिड १९ को महामारी पछिको संकटग्रस्त अवस्थामा ब्लड बैंकहरूमा रगत अभाव देखिएपछि कोहलपुरमा विश्व रक्तदाता दिवसको अवशरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कोलपुर उप शाखा, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोहलपुर जेसिज र वन अर्थ वन लभ संस्थाको संयुक्त आयोजनामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरस्थित रेडक्रसको ब्लड बैंक परिसरमा कार्यक्रम आयोजना गरिएको हो । अरूको लागि पनि सेवा भाव जगाऔं, रक्तदान गरौं जीवन बाडौं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवसमा कार्यक्रम आयोजना गरिएको आयोजक संस्थामध्यको रेडक्रस उप शाखा कोहलपुरले जनाएको छ । दिवसका अवशरमा आयोजित कार्यक्रममा कोहलपुर क्षेत्रमा सबैभन्दा धेरै ६५ पटक रक्तदान गरेका रेडक्रस उप शाखा कोहलपुरका पूर्व अध्यक्ष समेत रहेका रक्तदाता हेम कुमार रावतलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अथिति समेत रहेका रावतले सबैभन्दा ठुलो पुण्य कार्य रक्तदान भएकाले मन्दिरमा गएर पुजा गर्नुभन्दा रक्तदान गर्न दाताहरूलाई आग्रह गरेका छन् । रेडक्रस उप शाखा कोहलपुर सभापति नारायण गौडेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लक डाउनका कारण रगतको चरम अभावलाई कमी गर्न रक्तदान कार्यक्रमहरूको आयोजनालाई गति दिईनुपर्ने बताए । बिशुद्ध मानविय सेवा सहितको महान कार्यमा सहभागी भई रक्तदान गरेर वर्तमान समयमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि ईच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न अपिल गरेका छन् । रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस