महिला क्वारेन्टिनमा बस्ने महिलाहरुलाई स्वास्थ किट वितरण

दुर्गा आचार्य,बर्दिया
असार,११गते । बर्दियाको गुलरिया नगरपालिका वडानम्बर–४ स्थित श्री कोटहि मा. वि. मा रहेको महिला क्वारेन्टिनमा बसेका महिलाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य किट वितरण गरिएको छ । माईती नेपाल बर्दियाको सहयोगमा क्वारेन्टिनमा बस्दै आएका ५० जना महिला दिदी बहिनीलाई किट वितरण गरिएको माईती नेपाल बर्दियाले जानकारी गराएको छ । कोरोना जोखिमको अवस्थामा क्वारेन्टिनमा वस्दै आएका महिलाहरुमा थप संक्रमणबाट सुरक्षित राख्न माईती नेपालले गरेको सहयोग समय सान्दर्भिक भएकोमा गुलरिया नगरपालिकाकी नगर उप—प्रमुख शुसिला गिरीले खुशी व्यक्त गरेकी छिन । क्वारेन्टिनमा बस्दै आएका महिलाहरु माथि बिभिन्न क्वारेन्टिन स्थलहरुमा महिला हिँसाका घटना घटिरहेको अवस्थालाई मध्यनजर राख्दै बर्दियाको गुलरियामा पनि महिला क्वारेन्टिन स्थापना गरिएको उप—प्रमुख गिरीले वितरण कार्यक्रममा वताएकि छिन् । महिलामाथी हुने हिँसाका बिरुद्ध गुलरिया नगरपालिका हमेशा साथ रहने प्रतिवद्धता समेत गिरिले व्यक्त गरेकि छिन् । महिलाहरुलाई व्यक्तिगत सरसफाईका लागि आवश्यक पर्ने सावुन, सेम्फु, सेनिटेरी प्याडका साथै चप्पल दिईएको माईती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी गराईन् । कोरोना संक्रमणलाई मध्यनजर राख्दै हेन्डसेनीटाईजर तथा मास्क समेत उपलव्ध गराईएको रिमालले जानकारी गराएकि छन् । महिला वालवालिका माथि हुने सवै प्रकारका हिँसा विरुद्ध माईती नेपाल सधै क्रियाशिल रहेको संयोजक रिमालले वितरण कार्यक्रममा बताएकी छिन् । क्वारेन्टिनमा बस्दै आएका बालबालिकाहरुका लागि खाजाको रुपमा विस्कुट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस