प्रहरी महानिरीक्षकमा शैलेश थापा बढुवा

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा  शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।उनी प्रहरीको २८ औँ महानिरीक्षक हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एआईजी थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको एक मन्त्रीले जानकारी गराए । आईजीपीको प्रतिष्पर्धामा थापासँगै एआईजी हरि पालसमेत थिए ।महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाउँदैछन् ।  उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका हुन् । पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।  प्रहरीभित्र थापा व्यवसायिक अधिकृत मानिन्छन् । थापाले पहिलोपटक नै प्रहरी निरीक्षकमा आवेदन गरेकोमा छनोट भएका थिए ।  उनले बाह्रखरीसँग भनेका थिए, “मैले अन्य सेवाको बारेमा कुनै योजना बनाइन । प्रहरीमै आवदेन गरेँ । छनोट पनि भए । त्यसैले प्रहरी नभएको भए अरु के हुन्थे भन्नेबारे सोच्न भ्याइन ।” थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्त्वपूर्ण कमान्ड सम्हालेका छन् ।  अहिले उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । भक्तपुरमा जन्मिएका थापाका बुबा पनि अवकाशप्राप्त डीआईजी हुन् ।

को हुन थापा ?

भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन्। २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी ९ वर्षपछि २०५८ वैशाख १८ गते डीएसपीमा बढुवा भए। सेवा प्रवेश गर्दा पहिलो नम्बरमा रहेका थापा आठ वर्षपछि २०६६ पुस २० गते एसपीमा बढुवा हुँदा भने तेस्रो नम्बरमा थिए। २०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा थापा पुनः पहिलो नम्बरमा परे। २०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैटौँ नम्बरमा थिए। २०७६ फागुन १५ गते सरकारले एआईजीपीको बढुवा सूची सार्वजनिक गर्दा थापा दोस्रो थिए। पहिलो नम्बरमा बढुवा भएका एआईजीपी तारायणी लम्साल आईजीपी ज्ञावालीसँगै बुधबार सेवा निवृत हुँदैछन्। थापाको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ। उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन्। डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व सम्हालेका थिए। प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

फिल्डको कमान्ड थोरै समय मात्र गरेका थापा बोस्निया, पूर्वी टिमोर र सुडान गरी तीन देशमा मिसनमा गएका थिए।  प्रहरी अधिकृतहरुका अनुसार संगठनमा थापाको बौद्धिक र इमान्दार अधिकृतको छबि छ। थापा राजनीतिक लबिङबिनै संगठनले माया गरेर वरियतामा अगाडि पर्न सफल अधिकृत भएको अधिकृतहरुको बुझाइ छ। थापाले २०७९ बैशाख १९ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्। थापासँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन्। अरु एसएसपी र एसपीमा रोकिएका छन्।
यसअघिका आइजीपीहरु प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ज्ञवाली डीआईजीबाटै आईजीपी भएका थिए। नेपाल प्रहरीले लामो समयपछि एआइजीपीबाट आईजीपी पाएको छ। यसपछि हुने आईजीपी पनि एआईजीपीबाटै हुने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस