भल्बवाला माक्स नलगाउनु ,कोरोना संक्रमणका लागि घातक छ’, विज्ञ चिकित्सक

भल्ब भएको माक्सको माग अहिले बजारमा निकै छ । यसको प्रयोगका अवगुण बारेमा थाहा नभएकाहरु यो माक्स लगाउन खोज्छन् । सर्जिकल माक्स भन्दा धेरै महंगो पर्ने भएकाले पनि भल्बवाला माक्स लगाउन होडवाजी जस्तै देखिन्छ । महंगो हुनासाथ राम्रो हुन्छ भन्ने नेपाली सोचाइका कारण भल्बवाला माक्स अहिले एक किसिमको फेसन जस्तै बनेको छ । तर , भल्बवाला माक्स कोरोना संक्रमणका लागि सजिलो माध्यम भएको विज्ञ चिकित्सकले बताएका छन् ।

त्रिभुवन शिक्षण अस्पतालका कोभिडि व्यवस्थापन समितिका संयोजक डा.शान्तकुमार दासका अनुसार – ‘कोरोना संक्रमित मानिसले भल्बवाला माक्स लगाएको छ , भने त्यसबाट कोरोना संक्रमण तीव्र गतिमा सर्ने गर्छ । भल्बबाट संक्रमितको स्वास निकै जोडले बाहिर आउने हुँदा संक्रमण तुरुन्तै फैलिन्छ ।’

‘आजको परिस्थितिमा माक्सको प्रयोग गर्नु कोरोना संक्रमणलाई रोक्नका लागि भएकाले भल्बवाला माक्स नलगाउन,’ डा.दासले आग्रह गरेका छन् । ‘भल्बको प्वाल सानो हुने र संक्रमितको स्वास एकतृत भएर जोडसंग बाहिर निस्किने भएका कारण आसपासमा भएका निरोगी मानिसहरुलाई पनि छिट्टै संक्रमण हुन्छ,’ उनले भने ।

कसैले भल्बवाला माक्स लगाएको छ भने टाढै बस्न आग्रह समेत डा.दासले गरेका छन् । भल्बवाला माक्स लगाउनु भन्दा सुतीको कपडाको माक्स लगाउन उनेले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस