चार किल्लाकाे घेरामा गएरातिदेखि शिल

नेपालगञ्ज । नेपालगञ्जमा ठूलो संख्यामा कोरोना संक्रमित थपिँदै गएपछि सुर्खेतरोड पूर्वको क्षेत्रलाई चार किल्ला कायम गरी गएरातिदेखि शिल गरिएको छ । नेपालगञ्जको बढी जोखिमयुक्त क्षेत्रलाई शिल गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
नेपालगञ्ज बजार क्षेत्रमा आज विहानैदेखि निकै कडाई गरिएको छ । अनावश्यक हिँड्डुललाई पूरै नियन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौताराहुँदै बाँकेगाउँ, बाँकेगाउँबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र मंगलबारसम्म पूर्णरुपमा शिल गरिएको हो ।

शिल गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । साथै हिंड्डुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । यसका साथै प्रशासन कार्यालयले गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि समेत बढाएको छ । आगामी मंगलबारसम्म निषेधाज्ञा लम्ब्याइएको छ । गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि गएराति समाप्त हुँदै थियो ।

प्रतिक्रिया दिनुहोस