कोरोना संक्रमणबाट बच्न कुन मास्क कति प्रभावकारी?

कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरूबारे त तपाईं-हामीले अहिलेसम्म धेरै नै पढिसकेका छौं, धेरै नै सुनिसकेका छौं। तर, घना बस्ती भएका ठाउँमा हिँडडुल गर्न बाध्य हुनेहरूका लागि कोरोना भाइरसबाट जोगिन अहिले विज्ञ चिकित्सकहरूले केही सामान्य र व्यवहारिक सुझाव दिइरहेका छन्।

कोभिड-१९ को विश्वव्यापी महामारी नेपालमा पनि लगातार फैलिन थालेपछि सार्वजनिक भइरहेका जनहितमा जारी सूचनाहरूमा भनिएजस्तै, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, भिडभाडबाट टाढै रहने र नाक-मुखलाई मास्क अर्थात् मुखावरणले ढाक्ने उपायहरू हामीसामु छन् नै।

तर सबै बखत ती सबै उपाय अपनाउन सम्भव नहुन सक्छ। अब त्यस्तो बेला के गर्ने त?

नआत्तिनुस्। श्वासप्रश्वास र सरुवा रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूको सुझाव छ- भिडभाड हुने ठाउँमा नजाने र जानै परे नाक-मुख राम्ररी छोपिने गरी मास्क लगाइराख्ने। त्यो मास्क फुकालेर जथाभाबी नथुक्ने। कुरा गर्दा मास्क ननिकाल्ने वा त्यसलाई चिउँडोमा झार्दै फेरि माथि सार्ने बानी छ भने हटाइहाल्ने।

कुन मास्क कति प्रभावकारी?

कोरोना भाइरसको जोखिमबाट जोगिने सबभन्दा चाखलाग्दो र सजिलो उपाय यस्तो छ— कटन र सिफनको बहुपत्रे अर्थात् दोहोरो वा तेहोरो सिलाइ गरिएको कपडाको मास्क लगाइराख्ने र त्यसलाई धोएर पुन:प्रयोग गर्ने। प्रत्येक व्यक्तिका लागि एकभन्दा बढी कपडाको मास्क छ भने त अझै उत्तम।

हालै अमेरिकाको सिकागो विश्वविद्यालयको स्कुल अफ मलिक्युलर इन्जिनियरिङले विभिन्न मास्कको प्रभावकारिता जाँच गरेको थियो।

त्यस क्रममा कोभिड-१९ र मानिसको घाँटीबाट निस्कने अति साना छिटाछिटीमा हुने विषाणुबाट फैलिने अन्य सरुवा रोगबाट बच्न कटन, सिल्क र अन्य कपडाका बहुपत्रे मास्कहरू पनि चिकित्सकहरूले प्रयोग गर्ने एन-९५ र सर्जिकल मास्क जत्तिकै प्रभावकारी पाइएका छन्।

कटन र सिफनको पत्र-पत्र परेको मास्क त अझै धेरै प्रभावकारी पाइएको थियो। त्यस्तो मास्कले ३०० नानो माइक्रोनभन्दा सानो वस्तु मानिसको नाक वा मुखभित्र छिर्नबाट रोकेको अध्ययनले देखाएको छ। एउटा कोरोना भाइरसको आकार ६० देखि १२० नानोमिटरको हुने वैज्ञानिकहरू बताउँछन्।

सिकागो विश्वविद्यालयले आफ्नो अध्ययन क्रममा ३०० नानो माइक्रोनभन्दा सानो वस्तु रोक्न विभिन्न मास्क कति प्रभावकारी छन् भनेर हेरेको थियो। जसको नतिजा यस्तो छ:

एन-९५ (कसिलो लगाउँदा)- ८५% प्रभावकारी

एन-९५ (खुकुलो लगाउँदा)- ३४%

सर्जिकल मास्क (कसिलो लगाउँदा)- ७६%

सर्जिकल मास्क (खुकुलो लगाउँदा)- ५०%

कटन+सिफन (कसिलो लगाउँदा)- ९७%

कटन+फ्लानेल (कसिलो लगाउँदा)- ९५%

 

यो नतिजाबाट विश्वका धेरै चिकित्सक उत्साहित भएका छन्। तीमध्ये एक हुन्, भारतमा कोभिड-१९ को संक्रमणबाट अतिप्रभावित महाराष्ट्रको पुणेस्थित पल्मोनरी रिसर्च एन्ड एडुकेसन फाउन्डेसनका निर्देशक डाक्टर सन्दीप साल्भी।

केही दिनअघि इन्टरन्यूजको एक अनलाइन सभा (वेबिनार) मा उनले मास्क प्रयोगबारे सिकागो विश्वविद्यालयको अध्ययनको नतिजा दक्षिण एसियाका लागि निकै उपयोगी हुनसक्ने बताए।

‘सबैले हरपल हात धुन सम्भव नहुने, महंगो स्यानिटाइजर सबैले किन्न नसक्ने, सामाजिक दुरी कायम गर्न सम्भव नहुने र भिडभाड धेरै हुने भारत र नेपालका सहर बजारमा मानिसहरूले कपडाका बहुपत्रे मास्क लगाइराखेर आफूहरूलाई सुरक्षित राख्न सक्छन्,’ उनले भने।

उनीसँग नेपालका एक वरिष्ठ चिकित्सक पनि सहमत छन्।

कोरोना भाइरस संक्रमितको उपचारमा सुरूदेखि सक्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान समन्वयकर्ता डाक्टर शेरबहादुर पुन
भन्छन्, ‘मास्कको महत्त्व र शक्तिलाई हामीले कम आँक्नु भएन। सङ्क्रमण फैलिने क्रम फेरि बढेको छ। यस्तो बेला भिडभाडमा मास्क फुकाल्नै भएन।’

कुन मास्क कस्तो?

एन-९५ मास्क। तस्बिर सौजन्य: साइन्स अलर्ट

बजारमा अहिले नीलो रङका सर्जिकल, सेतो र अन्य रङका एन-९५ र थरिथरि कपडाका मास्क उपलब्ध छन्।

डाक्टर पुन मास्क प्रयोगकर्तालाई सजग रहन अनुरोध गर्छन्, ‘मास्कको सही प्रयोग जरुरी भइसकेको छ। जुनसुकै मास्क लगाए पनि ठिक तरिकाले लगाउनुपर्छ।’

‘कपडाको मास्क पनि लगाउन सकिन्छ तर त्यसको प्रयोग गर्दा कपडाको सफाइमा पनि ध्यान दिनुपर्छ। एक हप्तासम्म एउटै मास्क लगाउने होइन, त्यसलाई दैनिक धुनुपर्छ।’

डाक्टर साल्भीका अनुसार खादीजस्ता पातला कपडाका मास्क भने कोरोना भाइरसबाट बच्न काम लाग्दैनन्। मास्क बनाउँदा कटन र सिफन वा कटन र फ्लानेलजस्ता कपडा लिएर बहुपत्रे मास्क सिलाएर त्यसलाई प्रयोगमा ल्याउनुपर्छ।

उनका अनुसार बजारमा जताततै पाइने सर्जिकल मास्कको गुणस्तरमा पनि ध्यान दिनुपर्छ। ‘राम्रो गुणस्तरको सर्जिकल मास्क चार घन्टाभन्दा बढी काम लाग्दैन,’ उनले भने, ‘त्यसैले त्यसलाई सुरक्षित स्थानमा फ्याँकेर नयाँ मास्क फेर्नुपर्छ।’

एन-९५ र अन्य एन सिरिजका मास्कहरू प्राय: स्वास्थकर्मीले प्रयोग गर्ने गर्छन्।

डाक्टर साल्भीका अनुसार त्यो समस्याग्रस्त हुनसक्ने कारण यस्तो छ: ‘एन-९५ मास्क राम्रोसँग कसिलो गरी लगाउँदा निकै प्रभावकारी हुन्छ। तर त्यो निकै कसिने हुनाले मानिस निसासिन सक्छन्, त्यसलाई खुकुलो बनाउन थाल्छन् र संक्रमणको जोखिम बढ्छ।’

मास्क किन लगाइराख्ने?

नेपालमा लकडाउन खुकुलो भएपछि कोरोना भाइरसको संक्रमण फैलिने क्रम अहिले तीव्र बनिसकेको छ। अब तीज, दसैं, तिहारजस्ता चाडबाड नजिक आउन थालिसकेका छन्, जतिबेला आफन्तजनको जमघटको क्रम ह्वात्तै बढ्ने गर्छ। सँगै संक्रमणको जोखिम पनि।

जुलाई पहिलो साता ३२ देशका २३९ चिकित्सकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई एक पत्र लेख्दै कोरोना भाइरस हावामा लामो समयसम्म जीवितै (एअरबोर्न) रहिरहन सक्ने जोखिमतर्फ सचेत गराउँदै समाजिक दुरी र अन्य सावधानीका दायरा अझै फराकिलो पार्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए।

त्यसबारे डब्लूएचओले पुनर्विचार थालेको बताएको छ। किनभने त्यसअघि संक्रमित मानिसले खोक्दा वा छिउँ गर्दा नाक वा मुखबाट तीव्र वेगमा निस्कने छिटाछाटी (ड्रपलेट्स्‌) बाट मात्रै भाइरस अर्थात् विषाणु अर्को मानिसमा सर्न सक्ने ठानिएको थियो।

सर्जिकल मास्क। तस्बिर सौजन्य: साइन्स अलर्ट

कोरोना भाइरस कति सानो?

हुन पनि कोरोना भाइरस यति सानो हुन्छ (६० देखि १२० नानोमिटर), मानिसको एउटा रौंको चौडाइ जतिको सानो भागमा पनि १,००० वटा जति कोरोना भाइरस अटाउन सक्छन्।

त्यसको अर्थ संक्रमित मानिसले खोक्दा वा छिउँ गर्दा निस्कने एउटा सानो छिटाभित्रै मात्र दसौं लाख कोरोना भाइरस हुन सक्छन्। जबकि, मानिसले एकपटक छिउँ गर्दा २०० किलोमिटर प्रतिघन्टाको वेगमा ३० हजारसम्म छिटाछाटी बाहिर निस्कने गर्छन्।

त्यसबाट तपाईंलाई हुने जोखिमको अनुमान आफैं गर्नुहोस्।

त्यसैले चिकित्सकहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्- मानिसहरूले बैठक कक्ष वा अन्यत्र नजिकै बसेर कुरा गर्दा वा (जिम) व्यायामशालामा लामो सास फेदै व्यायाम गर्दा पनि कोरोना भाइरस हलभित्र हावामा निस्किन सक्छन्। हावा प्रवाह राम्रो नभएको अवस्थामा ती सोचिएभन्दा लामो समय हावामा रहिरहन सक्छन्।

पुणेका वरिष्ठ श्वासप्रश्वासविद् डा साल्भी भन्छन्, ‘नाक वा मुखबाट निस्कने छिटाबाट मात्र होइन, मानिसहरूले कुरा गर्दा वा सास फेर्दा निस्किने हावामा पनि कोरोना भाइरस हुन सक्छन्। ती हामीले सोचेभन्दा लामो समय र लामो दुरीसम्म पुग्न सक्छन् र संक्रमण फैलाउन सक्छन्।’

‘यस्तो अवस्थामा म भन्छु जोखिम कम गर्ने हो भने मास्क, मास्क र मास्क, जसको कुनै विकल्प छैन। अर्को कुरा, जमघट हुने स्थलमा र बन्द कोठा वा हलमा भेन्टिलेसन (पर्याप्त हावा प्रवाह), भेन्टिलेसन र भेन्टिलेसन। भाइरस बाहिर भगाउने त्योभन्दा उत्तम उपाय अरू कुनै छैन।’

जथाभाबी थुक, खकार र सिँगान!

राजधानीको बौद्धनाथमा जथाभाबी नथुकौं भनेर राखिएको सार्वजनिक सूचना। तस्बिर: सुरेन्द्र फुयाल

दक्षिण एसियाका नेपाल र भारतजस्ता देश अर्को एक समस्याले ग्रस्त छन्- मानिसहरूले जथाभाबी घर, आँगन वा चोक तथा सडकमा फ्याँक्ने थुक, खकार वा सिँगानले पनि समाजमा सरुवा रोग फैलाउन निकै ठूलो योगदान पुर्‍याइरहेको हुन्छ।

चुरोट, सुर्ती र गुट्खाका कूलत भएका मानिसहरू मात्र नभई अन्य मानिस पनि सार्वजनिक स्थलमा ‘खाआआक्’ आवाज निकाल्दै, कसैको पर्बाह नगरी तथा कुनै दण्ड, सजाय वा नसिहतको डर नमानी जथाभाबी थुक, खकार वा सिँगान निकालेर जताततै थुकिरहेको तपाईं-हामीले सधैंजसो देखिरहने एउटा अतिसामान्य दृश्य हो।

देश कोरोना भाइरसको त्रासले आक्रान्त भइसक्दा समेत मानिसहरूको यो बानी हट्न सकेको देखिन्न। कतिपय मानिसले त मुखको मास्क तल सार्दैं सार्वजनिक स्थलमा थुक्ने गरेको समेत हामीले देखिरहेकै छौं।

मानिसहरूलाई खोक्दा वा छिउँ गर्दा मुख छोप्ने सल्लाह दिने गरिए पनि जथाभाबी थुक, खकार वा सिँगान नफ्याँक्ने सुझाव अझै कसैले दिने गरेको सुनिँदैन। त्यसविरुद्ध न त स्वास्थ्य मन्त्रालयले नै अहिलेसम्म कुनै अभियान थालेको छ, न त कुनै राजनीतिक दल वा गैरसरकारी समूहले नै।

डाक्टर पुन भन्छन्, ‘नेपाली समाजमा व्याप्त यो समस्याको पनि निदान खोज्नुपर्छ, किनभने जथाभाबी फ्यालिने थुक, खकार वा सिँगानले पनि संक्रमण फैलाइरहेको हुनसक्छ।’ साभार- सेताेपाटीबाट

प्रतिक्रिया दिनुहोस