देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् ।

डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले पार्टीमा आपसी तिक्तता मात्रै बढाएको आराेप लगाएका हुन् ।

महाधिवेशनको मुखमा विभाग गठन गर्नुलाई उनीहरूले अवैधानिकसमेत भनेका छन् ।

‘अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरू कसरी वैधानिक र उपयुक्त हुन सक्छन्, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रूपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनुपर्ने होइन र ?’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हामीले बनाएका विभागहरूले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो । तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’

सभापतिको यस्ता कदमले निष्पक्ष महाधिवेशन गर्न प्रश्न उठाएको भन्दै उनीहरूले पार्टीलाई सही दिशा दिन आवश्यक पर्दा नेतृत्व लिन तयार रहेको पनि बताएका छन् ।

‘महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रह समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हरप्रश्नको जवाफसहित  राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिनसमेत तयार छौँ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस