पुर्व प्रधानमन्त्री स्व सुशील काेईरालाकाे ८१ जन्मजयन्ती सन्दर्भ

काठमाडौं,साउन २८ गते ।  मृदुला कोइराला, नेतृ, नेपाली कांग्रेस

आज एउटा सरल त्यागी निष्ठवान व्यक्तित्वले यस धरतीमा टेकेको दिन । नेपाली जनताले सुशील कोइरालालाई सभापति गिरिजाप्रसाद कोइरालाका घनिष्ठ सहयोगीका रुपमा चिन्दछन् । कांग्रेसको बृत्तमा त सुशील कोइरालाको राजनीतिक ब्यक्तित्व सभापति कोइरालाको ब्यक्तित्वसंग गाँसिएको विश्वास थियो । यो कुरा पूरै असत्य होइन । निश्चयपनि, सुशील कोइरालाको ब्यक्तित्व अलिकति पृथक थियो । दोस्रो राष्ट्रिय जनआन्दोलन पछिका केही कार्यसूचीहरूमा उहाँका केही बिचार सभापति कोइरालाका भन्दा पृथक थिए । सुशील कोइराला यही अवस्थामा सभापति कोइरालालाई अलिकति घुरकाएर अमेरिका लाग्नु भयो । पछि गिरिजाबावुले मसंग टेलिफोनमा भन्नुभयो, ‘मृदुला, सुशील मसंग रिसाएर त्यता आएको छ । उसंग पैसा पनि छैन होला । त्यसको राम्रो हेरबिचार गर्नु है ।’ मैले उहाँलाई आश्वस्त तुल्याउँदै भने, ‘म गरिहाल्छु नि, सानोबुवा । तपाईले चिन्ता नै लिनु पर्दैन ।’
सुशीलदा लामै समय अमेरिका बस्नु भयो । उहाँको अमेरिका प्रवासकै समयमा डा.रामवरण यादव राष्ट्रपति चुनिइ सक्नु भएको थियो । राजनीतिक घटनाक्रमको बिकास तिब्र गतिमा भइ रहेको थियो । काठमाडौंबाट तारन्तार उहाँलाई जतिसक्यो छिटो काठमाडौं पठाइदिनु भन्ने खबर आउन थाल्यो । गिरिजा बाबुलाई सुशीलदाको अभाव खटकिन लाग्यो । उहाँले मसंग फोनमा सुशीललाई चाडै काठमाडौं फिर्ता पठाइदिन भन्नुभयो । त्यतिबेला सुशीलदा करबलैले काठमाडौ फर्किनु भयो ।

अभिनेता बन्ने शोख थियो सुशील कोइरालाको, बन्नु भयो नेता । यसलाई नियति नै मान्नु पर्ला । उहाँको यो नियति देशको लागि अहोभाग्य साबित भयो । उहाँको नेतृत्वमा बनेको सरकारले संघीय गणतन्त्र नेपालको संबिधानको निर्माण ग¥यो । देशका सबै दलहरूको सहमतिमा बनेको यो संविधान, यसमा भएका कमी कमजोरीका बाबजुद, दश वर्षको अथक प्रयासको परिणाम थियो । संविधान सभाको पहिलो चरणमा नै संविधान लेखिइ सक्नुपर्ने थियो । मूलधारका आठदल र माओवादी बिद्रोही सक्रियतामा भएको राष्ट्रिय जन–आन्दोलनको भावना अनुरुप सबैको सहमतिका आधारमा, सबैको बिचार मिलाएर, दलीय सन्तुलन कायमगरेर संविधानको निर्माणगर्नु सजिलो थिएन । यसैले संविधान निर्माणमा समय लाग्नु अस्वाभाविक थिएन ।

सुशील कोइराला सन १९३९ मा पिता बोधप्रसाद र माता कुमुदिनीको कोखबाट विराटनगरमा जन्मिनु भएको थियो । स्वर्गीय कोइराला अत्यन्तै सरल स्वभावका ब्यक्ति हुनुहुन्थ्यो ।

सुशील कोइराला महामानव विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक आदर्शबाट अभिप्रेरित हुनुहुन्थ्यो । उहाँ बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । २००७ सालमा भएको प्रजातन्त्र स्थापनाको आन्दोलनमा पिता बोधप्रसादसँगै उहाँ पनि आन्दोलनमा सहभागी हुनु भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि उहाँ भारततिर लाग्नु भयो र लामो समय निर्वासनमा बिताउनु भयो । विसं २०४२ को सत्याग्रह, २०४६ को राष्ट्रिय जन आन्दोलन र ०६२\६३ को दोस्रो राष्ट्रिय जन आन्दोलनमा उहाँको सक्रिय सहभागिता थियो ।

वीपीको प्रजातान्त्रिक समाजवादी धारणा सुशीलदाको प्रेरणाको स्रोत थियो । लेखन र सम्पादनमा पनि उहाँको निकै सकियता थियो । प्रवासमा रहँदा उहाँले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादनमा सहयोग पु¥याउनु भएको थियो । समकालीन राजनीतिज्ञहरूलाई जस्तै सुशील कोइरालाका लागि पनि कारावासको जीवन सामान्य थियो । सुशील कोइरालाले नेपाल र भारतका बिभिन्न जेलमा पाँच वर्षभन्दा बढि बिताउनुभएको थियो । भारत सरकारले २०३० मा भएको राजतन्त्रका बिरुद्ध सशस्त्र आन्दोलन गरेको ‘अपराध’मा बिभिन्न अभियोग लगाएर जेल हालेको थियो ।

सुशील कोइराला २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनु भएको थियो । उहाँ जनमत संग्रहका अभियन्ताहरूमध्येका हुनुहुन्थ्यो । जुनसुकै मन्चबाट होस, बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनुलाई उहाँ आफनो कर्तब्य सम्झिनु हुन्थ्यो । सुशील कोइरालाले प्रजातन्त्रको पुनर्स्थापनापछि बाँके जिल्लालाई आफनो क्षेत्र बनाउनुभयो । तर, उहाँको अधिकांश समय नेपाली कांग्रेसको राष्ट्रिय भूमिका निर्धारणगर्नमा बित्ने गर्दथ्यो । उहाँको बसाइँ काठमाडौंमा हुन्थ्यो । नेपालगञ्जको बसाइँ कहिलेकही मात्रै ।
सुशील कोइरालाले आफनो प्रधानमन्त्रीत्वकालमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सार्क राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा कोइरालाले भारत र पाकिस्तानको चीसो सम्बन्ध सुधार गर्न निकै प्रयास गर्नु भएको थियो । वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता महान योद्धाको आदर्श राजनीतिलाई पछ्याएका नेताहरूसँग उहाँको घनिष्ठ उठबस हुन्थ्यो । उहाँले आफनो जीवनभर यो भूमिका कायम राख्नु भो ।

नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराई बराबरको त्यागी नेता अर्को छैन । उहाँपछि त्याग र सरल जीवनका लागि सुशील कोइरालालाई सम्झिनु पर्दछ । कम बोल्ने सुशील कोइरालाको जीवन शैली अत्यन्तै सरल थियो । सबैको कुरो सुन्ने सुशीलदा आफनो अडानबाट डग्नुहुन्नथ्यो । अरूको भलाइ हुने काम आफै अग्रसर भएर गरिदिने स्वभाव थियो उहाँको । उहाँको ब्यक्तित्वमा बिचलन थिएन । पटक पटक स्वास्थ्यमा समस्या आउदा पनि उहाँ बिचलित भएको कहिल्यै देखिएन ।

सुशील कोइरालाको जीब्रोमा क्यान्सर थियो । त्यसको निदान भएपछि फोक्सोमा क्यान्सर देखियो । उपचारको लागि डाक्टरहरूले न्यूयोर्क जाने सल्लाह दिए । त्यसै अनुरुप उहाँ न्यूयोर्क पुग्नु भयो । प्रधानमन्त्री जस्तो देशको उच्चतम कार्यकारी पदमा बसी सकेको ब्यक्तित्व, उहाँमा कुनै रवाफ थिएन । उहाँले सुबिधासम्पन्न होटेलमा बस्न अस्वीकार गर्नुभयो । राजदूत बसोबास गर्ने अपार्टमेन्टमा बसेर उहाँले आफ्नो स्वास्थ्यको उपचार गराउनु भयो । तडकभडकमा उहाँको इच्छा कहिल्यै देखिएन ।

प्रधानमन्त्री भएका बेला भेटघाटको चाहना राखेर आउने कसैसंग पनि भेटनका लागि आनाकानी कहिल्यै गर्नु भएन । उहाँलाई चिन्नेहरू स्वास्थ्यमा संक्रमणको थप जोखिम हुन सक्ने भन्दै भेटघाट नगर्ने सल्लाह दिन्थे । तर उहाँ कार्यकर्ता तथा शुभचिन्तकको मन दुखाउन चाहनु हुन्नथ्यो ।

सुशील कोइरालाको राष्ट्र भक्ति देखेर आज पनि कांग्रेसका सकृय कार्यकर्ताहरू शीर झुकाउछन् । वहाको इमान्दारीले नेपाली राजनीतिमा धेरै प्रभाव पारेको छ । ‘आफै तडकभडकमा रम्ने हो भने, त्यसले अरूलाई झनै भ्रष्ट बनाउन उत्प्रेरित गर्छ’ भन्ने मान्यता राख्नु हुन्थ्यो उहाँ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा सुशील कोइरालाले नेपाली राजनीतिमा अतुलनीय योगदान दिनु भएको छ । देशको कार्यकारी प्रमुख रहँदा उहाँले नेपाली राजनीतिलाई नयाँ उचाइमा पु¥याउनु भयो । उहाँको ब्यक्तित्वको निर्माण पार्टीमार्फत देशका लागि दिएको लामो योगदानका कारण भएको हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट उहाँ सभापति निर्वाचित हुनुभयो ।

सुशील कोइराला पदलोलुप व्यक्ति हुनुहुन्नथ्यो । पदलोलुप भै दिएको भए दशकौंको राजनीतिक यात्रामा सुशील कोइराला धेरैपटक प्रधानमन्त्री बन्न सफल हुनु हुने थियो । सार्वजनिक पद धारण गर्नुभन्दा पार्टीको आदर्शको अनुसरणगर्नु महत्वपूर्ण हो भन्ने मान्यताराख्दै आफनो राजनीतिक जीवनलाई अघि बढाउनु भयो सुशीलदाले ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफनो अभिभावक गुमाएको महसूस गरेका थिए । तर, कार्यकर्ताहरूको भावना बुझ्नु भएका सुशील दाले कार्यकर्तालाई गिरिजाबाबुको अभाव कहिल्यै महसुस हुन दिनु भएन । उहाँको पूरै जीवन पार्टी र कार्यकर्ताहरूको सर्वोपरि हितमा बित्यो । सुशील कोइरालाले देखाएको त्यो अभिभावकत्वपूर्ण स्नेहले कार्यकर्ताहरूको मन शीतल बनायो । आज सुशील कोइरालाले देह त्यागगर्नु भएको ६ वर्ष भयो । बितेका दिनहरूमा उहाँको सम्झना अझै आलो हुँदै आएको छ र त्यो माया गर्ने अभिभावक कार्यकर्ताले अझै खोजी रहेका छन् । मुलुकले इमान्दार नेता खोजीरहेको छ । उहाँको स्मृति नै अब कार्यकर्ताका लागि प्रेरणाका रुपमा रहेको छ ।

हार्दिक श्रद्धाञ्जलि सुशील दा !

(लेखिका नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा सुशील कोइराला फाउण्डेसन, मोरङकि अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस