दैलेखमा पहिरोका कारण २ को मृत्यु  एक बेपत्ता, ७ घर बगे

दैलेख : अबिरल वर्षासँगै दैलेखका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार राती गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । दैलेखको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-४ गैरागाउँमा गएको पहिरोले ७ वटा घर बगाएको वडाध्यक्ष रमेशबहादुर सीजापतीले जानकारी दिए ।

पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएको वडाध्यक्ष सीजापतीले बताए । ‘राती २ बजेतिर पहिरो गएको खबर पायौं, ‘वडाध्यक्ष सीजापतीले भने, ‘तत्काल पहिरो गएको स्थानमा गएर धेरैको ज्यान जोगायौं।’

पहिरोमा परी मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका-४ गैरागाउँका १२ वर्षीय जनक कठायत रहेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । मृतक बालकका बुबा ४२ वर्षीय टिकाराम कठायत र आमा धनसरा कठायत घाइते छन् ।

यस्तै १७ वर्षीया बेल कठायत, १५ वर्षीय शम्शेर कठायत, गम्ब नेपाली र ३४ वर्षीय महेन्द्र शाही घाइते छन् । बेपत्ता हुनेमा स्थानीय दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश कठायत रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उनको खोजी कार्य भइरहेको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उनीहरुको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्न गृह मन्त्रालयसँग पत्राचार गरिसकेको क्षेत्रीले बताए ।

यस्तै मंगलबार राती गएको पहिरोमा पुरिएर भगवतीमाई गाउँपालिका-५ का ६७ वर्षीय बलबहादुर रावलको मृत्यु भएको बताईएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । उनको परिवारका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ । पहिरोले घरसमेत भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस