खजुरालाई स्वास्थ्यको हब बनाउने खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति

नेपालगन्ज, ८ भदौ
खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गरिएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहति प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यका साथ समीक्षा गरिएको हो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ देखि वडा नं. ८ सम्मका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले वर्षभरी गरेका कार्यप्रगतिको समीक्षात्मक तथ्यांक सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरुले प्रस्तुत गरे । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्वास्थ्यको हब बनाउने खजुरा गाउँपालिका अग्रसर भए अनुरुप खजुराका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र खजुरामै क्यान्सर अस्पताल रहेको उल्लेख गरे । उनले सबै स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवालाई जनमैत्री बनाउँदै लगिने बताउँदै खजुरा ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालका रुपमा विकास गर्न बजेट विनियोजन भएको जानकारी दिए । अध्यक्ष कक्षपतिले पिएचसी विस्तारका लागि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा साढे ५ करोड बजेट बिनियोजन भई भवन डिभिजनमा आइसकेको र अब टेण्डरको प्रक्रिया अगाडि बढ्ने बताए । उनले खजुराका सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर हरेक वर्षजस्तो निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । कोरोना महामारीको वर्तमान अवस्थामा स्वास्थ्यकर्मीले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष कक्षपतिले समन्वय र सहकार्यमा अगाडि बढ्ने कुरामा जोड दिए । अध्यक्ष कक्षपतिले स्वास्थ्य सेवा संवेदनशील भएको उल्लेख गर्दै यसतर्फ विशेष ध्यान दिएर अधिकारसंगसंगै हरेकले कर्तव्य पालना गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतले यसरी गरिने समीक्षाले सेवा सुधारमा टेवा पुग्ने बताए । कार्यक्रममा वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, खजुरा क्षेत्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस