नेपालमा कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह

कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ । पछिल्लो समय खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिष्प्रर्धा देखिन थालेको हो । नेपालले पनि कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेको  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य  सचिव प्रदिप ज्ञवाली बताउँछन्  ।

खोपको तेस्रो चरणको ट्रायलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएकाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलका लागि अध्ययन  गरिरहेको परिषद्का सदस्य सचिव ज्ञवालीको भनाइ छ ।   नेपालले भाइरस विरुद्धको खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपका बारेमा परिषद्ले गहन अध्ययन गर्ने र प्रक्रियामा जान थालिएको समेत उनले बताए । नेपालमा अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका कम्पनी, रुसको गेमेलिया र चीनको हङ सी कम्पनीले निर्माण गरेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रयालको लागि इच्छा देखाएका छन् ।

विश्वसनीय आधारमा मात्रै ट्रायल अनुमति दिनुपर्छ 

नेपालमा तेस्रो चरणको ट्रायलमा ल्याउँदा खोप निर्माणको पहिलो र दोस्रो चरण विधिपूर्वक (क्लिनिकल ट्रायल) गरेर पियर रिभ्यु गरे–नगरेको पत्ता लगाएर मात्र ल्याउनुपर्ने जनस्वास्थ्यविद् रविन्द्र पाण्डे बताउँछन् ।  अन्य धेरै राष्ट्रमा ट्रायलमा गएको खोपलाई मात्रै क्लिनिकल ट्रायल गर्ने अनुमति दिन जरुरी भएको उनी बताउँछन् । यता, कतिपय राष्ट्रले कोरोना विरुद्धको खोप निर्माणको दाबी गरे पनि ती राष्ट्रले बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगरेको जनस्वास्थ्यविद्ध बाबुराम मरासिनी बताउँछन् । बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगर्ने राष्ट्रले निर्माण गरेकोे खोप तेस्रो चरणको ट्रायलको लागि ल्याउँदा घातक बन्न सक्ने डा.पाण्डेको पनि प्रतिक्रिया छ ।

सरकारले रुसमा निर्माण भइरहेको कोरोना विरुद्धको खोेपका लागि प्रक्रिया सुरु गरेको भनिरहँदा सो खोपले साइड इफेक्ट धेरै देखिन सक्ने प्रतिक्रियाहरु पनि आइरहेका छन् । रुसको गेमेलिया इन्स्टिच्युटले निर्माण गरेको उक्त खोप तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बैज्ञानिक जर्नलमा (अनुसन्धान निश्कर्ष) प्रकाशित नगरेका कारण वैज्ञानिकहरूले असहमति जनाउँदै आएको डा.पाण्डेले बताए । त्यस्तै रुसले नै साइबेरियामा रहेको  विश्वकै ठूलो भाइरस ल्याबमा कोरोना विरुद्धको अर्को खोपको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल गरेको छ । उक्त खोपको नतिजा पहिलो खोपभन्दा प्रभावकारी  भएको अनुसन्धानहरूले देखाएको उनी बताउँछन् ।

अपरिपक्व तरिकाले खोप निर्माण गरेका कम्पनीका खोप ट्रायलकै लागि प्रयोग गर्दा झन् जोखिम बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारी बताउँछन् । कोेरोना विरुद्धको खोप बनाएका राष्ट्रले ट्रायलका लागि इच्छा देखाएपनि  खोप निर्माणका क्रममा प्रत्येक चरण पार गरेको नगरेको गहन रुपमा अध्ययन गरेर अनुमति दिनुपर्ने डा.अधिकारीको भनाई छ । क्लिनिकल ट्रायलमा सहभागी हुनु भनेको जोखिमपूर्ण काम भएकाले गहन अध्ययन विना ल्याइएको खोपले स्वास्थ्यमा गम्भीर असर पार्ने  समेत विज्ञहरूको भनाई छ ।

ट्रायल खोप भन्दैमा डराउनुपर्दैन 

विश्वसनीय कम्पनीले खोप निर्माणका प्रत्येक प्रक्रिया र तह पार ल्याएको छ भने तेस्रो चरणको ट्रायलसँग डराउनु नपर्ने विज्ञहरुको प्रतिक्रिया छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गहन अध्ययन गरेर नै तेस्रो चरणको ट्रायलका लागि खोप ल्याउन लागेको डा.मरासिनीले बताए ।  डा.पाण्डेले पनि केही विश्वसनीय कम्पनीहरुले विकास गरेका खोपहरुलाई अनुमति दिन सकिने बताए । उनले अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेका, जर्मनी र अमेरिकाको संयुक्त प्रयासमा फाइजर कम्पनी, अमेरिकाकै  मोडेर्ना, चीनको कान्सिनो बायोलोजिक्स, भारतको कोभ्याक्सिन र चीनकै सिनोफार्म बायोटेकले विकास गरेका खोपलाई नेपाल सरकारले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिन सक्ने दाबी गरे ।

त्यस्तै डा.अधिकारीअनुसार कोरोनाभाइरसविरुद्ध बनेको खोप तेस्रो तह पास गर्न कम्तीमा ५÷६ महिनाको  समय लाग्न सक्छ । उनले पनि विश्वसनीय कम्पनीले प्रक्रिया पुर्याएर ल्याएको खोप तेस्रो चरणको ट्रायलका लागि प्रयोग गर्दा डराउन नपर्ने बताए । भाइरस विरुद्धको खोप बनाउने जुनसुकै निकायले ल्याब, जनावर र सीमित मान्छेमा समेत परीक्षण गरेर त्यसको उपयोगिता तथा असर पत्ता लगाएर मात्रै मानिसमा ट्रायल गर्ने उनको भनाई छ ।  त्यसैगरी कोरोनाभाइरस विरुद्धको खोप पनि विभिन्न चरणमा परीक्षण गरेर मानिसमा ट्रायल गरिएकोले ट्रायलका नाममा डराउन नहुने डा.अधिकारी बताउँछन् ।

डा.मरासिनीले भने तेस्रो तहको ट्रायल पास गरेपछि खोप महँगोमा किन्नुपर्ने भएकोले पनि ट्रायलका लागि नेपाल भित्र्याउनुपर्नेमा जोड दिए । महामारीका बेलामा संसारमा कोरोनाको खोप तथा औषधिको अत्यधिक माग हुने भएकाले नेपालले खोप पाउने सम्भावना कम हुने उनको भनाई छ । त्यसैले राम्रा कम्पनीले निर्माण गरेको खोप ट्रायलका लागि नेपालमा ल्याउने पहल सकारात्मक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस