नेपाल रेडक्रस सोसाइटी  बाँकेले क्वारेन्टाइनमा डिगनिटी किट र झुल वितरण

नेपालगन्ज  १० भाद्र, बैजनाथ गाउँपालिकाद्वारा संचालित क्वारेन्टाइनहरुमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले महिलाहरुलाई डिगनिटी किट र झुल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको साझेदारीमा सामुदायिक शसक्तिकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम मार्फत बाँके जिल्ला शाखामा संचालित कोभिड–१९ प्रतिकार्य कार्यक्रमद्वारा उक्त सहयोग गरिएको हो ।
बैजनाथ गाउँपालिकाद्वारा सूर्योदय मा.वि. चिसापानी र जनता आर्दश मा.वि.डिगियामा संचालित क्वारेन्टाइनमा रहेका महिलाहरुलाई डिगनिटी र पुरुषलाई झुल वितरण गरिएको छ । साथै कार्यक्रममा कोभिड–१९ संक्रमण रोकथाम, मलेरिया, डेंगु, परिवार नियोजन, झाडापखाला र एच.आइ.भी. एड्सको बारेमा अभिमुखीकरण समेत गरिएको थियो

वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी, नेरेसो सामुदायिक शसक्तिकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रमका शंकर भट्टराई, नेरेसो कोहलपुर उपशाखा र बैजनाथ गाउँपालिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

उक्त अभिमुखीकरणको सहजकर्ताहरुमा नेरेसो बाँके शाखाका कार्यक्रम फोकल पर्सन प्रहलाद विश्वकर्मा, नेरेसो कोहलपुर उपशाखाका प्रकाश चन्द्र चौधरी र लालबहादुर राना रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस