बाँके कोहलपुरमा  बिहिबार देखि निषेधाज्ञा  खुकुलाे पारियाे

नेपालगन्ज भाद्र १० ।  गत १० दिनदेखि कोहलपुरमा जारी निषेधाज्ञा बिहिबार   देखी खुकुलो हुने भएको छ । बुधबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैंठकले कोहलपुरमा लागु गरिएको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैंठकले तयार पारेका तालिका अनुसार कोहलपुरमा पसल ब्यवसाय संचालन गर्न पाईने छ । सर्वपक्षिय बैंठकपछि कोहलपुर नगरपालिकाद्धारा जारी गरीएको सूचना अनुसार आईतबार/बुधबार र शुक्रबार किराना पसल, मासु, भाडाँ वर्तन, तरकारी, फलफुल, साईलक, शोरुम, ईलेक्ट्रोनिक्स, मोबाईल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाईने छ । त्यसैगरी सोमबार/मंगलबार/बिहिबार र शनिबार कपडा, फेन्सी, जुत्ता चप्पल, कस्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरीङ, सुन र गहनाका पसल तथा आईतबार/मंगलबार र बिहिबार बैंक तथा वित्तिय संस्थाहरु संचालनमा आउने छन ।सर्वपक्षिय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रेष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।त्यसैगरी बिहिबारदेखी कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजि सबै सवारी साधनले जोडबिजोड नियम पालना गर्नुपर्ने छ । सर्वपक्षिय बैठकले जोड नम्बरका सवारी साधनलाई जोड दिन र बिजोड नम्बरका सवारी साधनलाई बिजोड दिन संचालन गर्न दिने निर्णय गरेको हो ।कोहलपुरमा कोरोना संक्रमण जोखिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क, सेनिटाईजर प्रयोग गर्नुकासँगै सामाजिक दुरी लगाएत स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको कोहलपुर नगरपालिका स्रोतले जनाएको छ ।कोहलपुर नगरपालिकाका मेयरको अध्यक्षतामा बसेको बैठकमा कोहलपुर उद्योग वाणिज्य संघ, घरेलु महासंघ, कपडा व्यवसायी संघ र इलेक्ट्रोनिक व्यवसायी संघ र कोहलपुर बैंकर्सका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस