नेपालजस्ता गरिब मुलुकहरुले कसरी पाउँछन् कोरोनाविरुद्धको खोप ?

चीनको वुहानबाट नौ महिनाअघि सुरु भएको भनिएको नोभेल कोरोना भाइरसको संक्रमणबाट विश्वभर करिब ९ लाख मानिसको मृत्यु भएको छ । हालसम्म कोरोना निर्मूल गर्ने अथवा निको पार्ने कुनै औषधिको विकास भइसकेको छैन । यसलाई नियन्त्रणमा लिने र निको पार्ने एकमात्र आशा भनेको विश्वभर विकास भइरहेको कोरोनाविरुद्धका खोपलाई लिइएको छ ।

यसमा कोरोनाविरुद्धको खोप विकास गरेर शक्तिशाली देखिने होडमा विश्वका शक्ति राष्ट्रहरु छन् । अमेरिका, रुस, चीन, बेलायत, अस्ट्रेलिया, भारतलगायत मुलुकले कोरोनाविरुद्धको खोप विकासमा तीव्रता दिएका छन् । रुसले त कोरोनाविरुद्धको पहिलो खोप विकास गरेको दाबीसमेत गरेको छ । विकासका क्रममा रहेको यो खोपको प्राथमिकतामा शक्ति राष्ट्रहरुलाई आफ्नो मुलुकलाई दिने भएकाले गरिब मुलुकहरुले कसरी खोप पाउँछन् भन्‍ने प्रश्‍नहरुसमेत उठ्न थालेका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले नोभेम्बर १ देखि खोप वितरणको तयारी गर्न आफ्ना ५० राज्यका अधिकारीहरुलाई निर्देशन दिएको छ । यता चीनले भने कोरोना भाइरसको परीक्षणमा सहभागी हुने र एसियाली र अफ्रिकी मुलुकहरुलाई वितरण गर्ने जनाएको छ । भारतले पनि आफूलाई सहयोग गर्ने छिमेकी मुलुकहरुलाई नि:शुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने रणनीति बनाएको छ । त्यसैगरी रुसले पनि परीक्षणमा सहभागी हुने मुलुकहरुलाई खोप दिने प्रतिबद्धता गरेको छ ।

नेपालमा पनि रुस, चीन र अक्सफोर्डले विकास गरिरहेका खोपहरु परीक्षणका लागि ल्याउने विषयमा अध्ययन भइरहेको छ । तर, शक्ति राष्ट्रहरुले आफ्नो रणनीतिक स्वार्थका लागि खोप उपलब्ध गराउने भएकोले विश्वभरका गरिब मुलुकहरुलाई खोप वितरणको ग्यारेन्टी गर्न कुनै पनि मुलुक तयार छैन । संयुक्त राज्य अमेरिकाले त विश्व स्वास्थ्य संगठनले सुरु गर्न लागेको खोप विकास र वितरणको विश्वव्यापी पहलमा समेत सहभागी नहुने जनाइसकेको छ ।

९२ देशलाई खोप उपलब्ध गराउने प्रतिबद्धता
यस विषयमा विभिन्‍न मुलुकहरुले आफ्नो रणनीतिक स्वार्थलाई ध्यान दिएर गरिब मुलुकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहँदा संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्‍न आय तथा निम्‍न मध्यम आय भएका ९२ देशका निम्ति सहजीकरण गरिदिने जनाएको छ ।

संयुक्त राष्ट्रसंघको वेबसाइटमा राखिएको सूचनाअनुसार युनिसेफले विभिन्‍न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा कोभ्याक्स सुविधाका तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । खोप खरिदसँगै युनिसेफले खोप ढुवानी, बन्दोबस्ती तथा भण्डारणको कामसमेत गर्ने जनाएको छ ।

यसका लागि युनिसेफले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) , गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्‍जाल), विश्व बैंक, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य संगठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलगायत संस्थासँग सहकार्य गर्नेसमेत जनाएको छ ।

युनिसेफले भनेको छ, “निकट भविष्यमै उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्‍चित हुन नपरोस् भनेर कोभ्याक्स सुविधा सबै देशका निम्ति खुला गरिएको छ ।”

कोभिड-१९ सम्बन्धी विभिन्‍न खोप निर्माताहरूले बनाइरहेका विभिन्‍न खोपको अनुसन्धान, विकास, उत्पादनमा सहयोग पुर्‍याउन तथा विकास गरिएका खोपको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्‍चको रूपमा कोभ्याक्स गठन भएको थियो । यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै समान पहुँच पाउने जनाइएको छ ।

कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका दुई अर्ब डोज (मात्रा) उपलब्ध गराउनु रहेको छ । जोखिममा परेका मानिस तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने जनाइएको छ ।

कोभ्याक्ससँगको सहकार्यमा नै युनिसेफले खोपको बन्दोबस्तीमा सहजीकरण गर्ने बताएको हो । खोपसम्बन्धी विश्वव्यापी सञ्‍जाल गाभीले नेपालसहित निम्‍न आय भएका देशहरूमा स्वास्थ्यकर्मीहरूलाई तथा उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिलाउन र ती देशमा आवश्यकताअनुसार आपूर्ति गर्न ‘बफर स्टक’ बनाउन प्रारम्भिक पुँजी उपलब्ध गराउने भएको हो ।

करिब १०० देशको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउन वार्षिक दुई अर्बको डोज खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्तामा युनिसेफ छ । “आफ्नो बजार विश्लेषण तथा खरिद कार्यसम्बन्धी विज्ञता उपयोग गर्दै युनिसेफले कोभ्याक्स सुविधाका लागि कोभिड-१९ विरुद्धको खोप खरिद एवं आपूर्ति कार्यका लागि समन्वय गर्नेछ,” युनिसेफले भनेको छ ।

कुनै एक मुलुकले पनि खोप पाएन भने महामारी कहिल्यै अन्त्य हुने छैन
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा कोरोनाविदरुद्धको खोप विकास भयो र कुनै पनि एउटा मुलुक खोप प्राप्त गर्नबाट वञ्‍चित भए महामारी कहिल्यै अन्त्य नहुने चेतावनी दिएका थिए । यस कारण खोपमा विश्वव्यापी पहुँच स्थापित गर्न विश्वभरका सम्पन्‍न राष्ट्रहरुले भूमिकमा खेल्नुपर्नेमा जोड दिएका थिए ।

उनले खोप विकास नभएसम्म विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य मापदण्डहरुको पालना गर्नुपर्नमा जोड दिएका थिए । उनले चाँडै खोप विकास हुने पनि आशा व्यक्त गरेका थिए ।

हाल विश्वभर २०० भन्दा बढी कोरोनाविरुद्धका खोपहरु विकासको विभिन्‍न चरणमा छन् । जसमध्ये ७ वटा खोपहरु सन् २०२० को अन्तिम र २०२१ को सुरुवातमा बजारमा उपलब्ध भइसक्ने गरी काम भइरहेको खोप विकासकर्ताहरुले दाबी गरेका छन् । त्यसैगरी १४ वटा खोप मानव परीक्षणको दोस्रो चरणमा छन् भने मानव परीक्षणको पहिलो चरणमा ८ वटा खोपहरु छन् ।

मानव परीक्षणमा प्रवेश नगरेका र विभिन्‍न जनावरमा परीक्षण भइरहेका खोपहरु १७० भन्दा धेरै रहेका छन् । अन्य रोगका खोपहरुको तुलनामा अहिलेसम्मकै तीव्र गतिमा विकास भइरहेको खोपमध्येकै एउटामा कोरोनाविरुद्धको खोप रहेको वासिङ्टन पोस्टमा उल्लेख छ ।साभार बाह्खरीबाट

प्रतिक्रिया दिनुहोस