प्रदेश ५ मा कोरोना भाइरस संक्रमित बिरामीहरुमा आयुर्वेदिक औषधिको परीक्षणको तयारी

बुटवल-प्रदेश ५ मा कोरोना भाइरस संक्रमित बिरामीहरुमा आयुर्वेदिक औषधिको परीक्षणको तयारी भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश ५ मा आयुर्वेदिक औषधिको परीक्षणका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको छ।

परिषदले जेठीमधु र त्रिकटु (मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) को मिश्रण) मिसाएर तयार पारिएको आयुर्वेदिक औषधिको परीक्षणका लागि ५ जना स्वास्थ्यकर्मी पठाएको छ।

केहीदिन अघि बुटवल आइपुगेका उनीहरुसँग परीक्षणको प्रक्रिया र यसको परीक्षणका क्रममा हुनसक्ने जोखिमका बारेमा छलफल भइरहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए।

‘औषधिको परीक्षण गर्ने भनिसकेपछि त्यसका विभिन्न पाटोहरुको बारेमा परीक्षण गर्ने टोली, विशेषज्ञहरु, त्यसका लागि समन्वय गर्ने मन्त्रालय र सरोकारवालाहरुसँग प्रक्रियाका बारेमा छलफल गर्नुपर्ने हुन्छ’ उनले भने, ‘जसमा परीक्षण गर्ने हो ती संक्रमित र उनको परिवारसँग समेत अनुमति र प्रक्रियाबारे छलफल गर्नुपर्ने हुन्छ, त्यसमै अहिले टोली व्यस्त छ।’

उनले कुन अवस्थामा रहेको र कस्तो उमेर समूहका बिरामीमा परीक्षण गर्ने भन्नेबारे पनि छलफल भैरहेको बताए। ‘उहाँहरु आएर कसरी परीक्षण गर्न सकिन्छ, कुन स्तरको बिरामीमा परीक्षण गर्ने, त्यसका लागि आवश्यक पर्ने तथ्यांक विश्लेषणदेखि सरोकारवालासँग छलफल गर्ने काम जारी छ, उनले भने-हामी कसरी परीक्षण गर्न सकिन्छ भन्ने विषयमै छलफलमा छौं।’

प्रदेश ५ का करीब १ सय जनामा परीक्षण गर्ने योजना बनाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गर्न विज्ञटोली खटाएको छ।

परिषदका अनुसार तत्काल गम्भीर अवस्थामा पुगेका बिरामीमा यसको परीक्षण गरिनेछैन। शुरुमा संक्रमण पुष्टि भएका व्यक्तिमा परीक्षण गर्ने र त्यसपछि देखिने लक्षण र अस्पताल वा आइसोलेशन बसाईमा फरक देखिन्छ या देखिदैन भन्ने अध्ययन गर्नेबारे छलफल चलिरहेको पौडेलले बताए।

संक्रमितहरुलाई औषधि दिएपछि उनीहरुको रगतमा कुनै परिवर्तन देखिन्छ या देखिदैन भन्ने जाँच गरिने उनले जानकारी दिए।
प्रदेश ५ का विभिन्न आइसोलेशनहरुमा रहेका र होम आइसोलेशनमा रहेकाहरुमा यस्ता आयुर्वेदिक औषधिहरुको प्रयोग गरिएपनि मिश्रण र मात्राका बारेमा अनुसन्धान गरेर अनुमति पाएपछि मात्रै अध्ययनका लागि परीक्षण गर्न लागिएको हो।

‘अहिले पनि हामीहरुले आइसोलेशनमा रहेका संक्रमितहरुलाई यस्तो आयुर्वेदिक जडीबुटीहरुको धुलो दिइरहेकै थियौं, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पौडेलले भने-कोरोना भाइरसका संक्रमितलाई कति मात्रा र कसरी दिने भन्ने अनुसन्धान भइसकेकाले यसको मात्रा कति कसरी दिने भन्ने उहाँहरुले भनेअनुसार गरेर परीक्षण हुने हो।’

उनका अनुसार उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाइनेछ। यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन।साभार देशसंचारबाट

प्रतिक्रिया दिनुहोस