बाँकेमा जारी शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो

नेपालगञ्ज भाद्र ३१ ।

-जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जारी गरेको शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको छ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको जानकारी दिए। नेपालगञ्जको मेयरको उपस्थितिमा भएको केन्द्रको बैठकले भदौ १२ गतेदेखि निषेधाज्ञा लगाइएको थियो।

निर्णय अनुसार, हप्तामा दुई दिन शुक्रबार र शनिबार पूर्णरुपमा बन्द गरिएको थियो। यो निर्णयको नेपालगञ्ज उद्योग बाणिज्यले असन्तुष्टि जनाइरहेको थियो।

स्थानीय प्रशासनले हप्तामा दुई दिन निषेधाज्ञा गर्दा जनजीवनमा ठूलो असर नपर्ने र कोरोनाको ‘चेन’ तोडिने आकलन गरेको थियो।

सरकारले नै कोरोनालाई सामान्य रुपमा लिन शुरु गरेर लक्षण चिन्ह देखिएका व्यक्तिलाई मात्रै पीसीआर परीक्षण गर्ने नीति अघि सारिरहदा स्थानीय प्रशासनले लगाउदै आएको निषेधाज्ञाप्रति स्थानीयको असन्तुष्टि रहदै आएको थियो।

बाँकेमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेकै देखिन्छ। अबका दिनमा भने लक्षण चिन्ह देखिएका व्यक्तिलाई मात्रै परीक्षण गर्ने भनिएकाले संक्रमित पनि कम देखिने संभावना छ।

प्रतिक्रिया दिनुहोस