नेपाली कांग्रेसको प्रश्न :   प्रधानमन्‍त्रीलाई  नेकपा सचिवालय नै संवैधानिक परिषद् हो त ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै आपत्ति जनाएको छ।

बिहीबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीलाई संवैधानिक परिषद् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय नभएकाले यसको अवमूल्यन नगर्न सजग गराएका छन्।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको भन्दै लोकतान्त्रिक व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुन्छ भन्नेकुरा सरकारले नबुझ्नु दुःखद भएको उल्लेख गरिएको छ।

सरकारले अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र गरेको कांग्रेसको आरोप छ। सत्तारुढ नेकपा सचिवालय बैठकमा संवैधानिक नियुक्तिको विषयमा छलफल गरेको भन्दै विज्ञप्तिमा कांग्रेसले आपत्ति जनाएको छ।

‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ’, प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद एवम् संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपले अपील गर्दछ।’

प्रतिक्रिया दिनुहोस