२५ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् ।
नेपालको सविधानको धारा १८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन् ।
यसअनुसार अविश्वास प्रस्ताव दर्ता गर्न १० जना सांसद भए पुग्छ, यद्यपि आइतबार दर्ता भएको अविश्वास प्रस्तावमा १८ जनाले हस्ताक्षर गरेका छन् ।कर्णाली प्रदेशसभामा नेकपाका ३३ सदस्य छन्, कांग्रेसको ६ र राप्रपाको एक जना रहेका छन् ।
संविधानको धारा १८८ को ५ अनुसार अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रस्तावित मुख्यमन्त्रीको नाम पनि उल्लेख गर्नुपर्ने व्यवस्था छ । अविश्वास प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएमा मुख्यमन्त्री पदमुक्त हुनेछन् ।