बाँके प्रहरीद्वारा २९ लाख रकमसहित १० जुवाडे पक्राउ

बाँकेले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दशजना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले गएराती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि चालेको यो पहिलो ठुलो कारवाही हो ।

प्रतिक्रिया दिनुहोस