छैटौं धारा नेपालगन्ज म्याराथन शनिबार हुँदै

 

क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा छैटौं धारा नेपालगन्ज म्याराथन शनिबार हुँदैछ । म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छ ।

कोरोना महामारीका कारण आठ महिनायता नेपाली खेलकुद ठप्प छ । महामारी सुरु भएयता देश भित्र आयोजना हुन लागेको नेपालगञ्ज म्याराथन पहिलो हो ।

एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीबाट जानकारी प्राप्त भएको आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष एवंम टिम लिडर टिएस ठकुरीले जानकारी दिए ।

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ ।

दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ ।

यसपटक म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिए यसअघि नै जानकारी गराएको थियो । सागका स्वर्ण पदक विजेता किरण, गोपीचन्द्र, गत वर्षका विजेता नवराज साउदसहित २० भन्दा बढी धावकले म्याराथनमा प्रतिस्पर्धा गर्ने बताइएको छ । त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन्

यसपटक म्यराथनका विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

प्रतिक्रिया दिनुहोस