प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न  नेपाली काँग्रेस  आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेका छन्।

प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न शर्माको आग्रह छ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा घटौं भेटवार्ता भएको थियो।  प्रवक्ता शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए।

‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन। लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो,’ उनले भने।

प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि उनले आग्रह गरेका छन्।

अहिले सरकारमा सहभागी हुने कांग्रेसको रुचीको विषय नभएको उनले बताए।

जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको शर्मा बताउँछन्।

उनले नेकपाभित्रको द्वन्दमा कांग्रेस पुरै निरपेक्ष रहेको समेत बताए।

‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ। हामी  सत्ताका लागि लालायित छैनौँ। नेकपाभित्रको द्वन्दमा हामी पुरै निरपेक्ष छौँ। उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस भन्ने हो,’ उनले भने।

कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको दाबी गर्दै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति अगाडि बढ्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस