किन माधव नेपाल प्रचण्ड संग असन्तुष्ट बने

सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन्।

नेपाल पक्षले सचिवालयमा नै यो विवाद टुंगो लगाउनुपर्नेमा कार्यकारी अध्यक्ष दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म पठाएको भन्दै असंतुष्टी जनाएका हुन् । दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी रहेको नेपालको निष्कर्ष छ ।

कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओलीले कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आएका छन्।

सचिवालय बैठक माग गर्दै कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका ओलीलाई पत्र लेखेका थिए। तर ओलीले कात्तिक २५ मा सो पत्रको जवाफ फर्काएका थिए।

कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाललगायत पाँचजना सचिवालय सदस्यको तर्फबाट भन्दै कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन पेस गरेका थिए। ओलीले जवाफ लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक १३ गते बस्ने गरी स्थगित गरिएको थियो।

अब बस्ने बैठकमा ओलीले जवाफी प्रतिवेदन पेस गर्ने बताइएको छ। विवाद बढिरहेका बेला दाहालले आइतबार साँझ सो प्रतिवेदन छापेर सातै प्रदेश र अन्य कमिटीका सदस्यलाई पठाएका हुन्। त्यसको जानकारी पाएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन्।

दाहालको यो कदमले पार्टी विभाजनको दिशामा अगाडि बढ्ने भन्दै नेपाल पक्षले असंतुष्टी जनाएका हुन् । यस विषयमा नेपालले दहालको ध्यानाकर्षण गराइसकेका छन्। स्रोतका अनुसार नेपालको आपत्तिपछि आफू त्यसलाई सच्याउन तयार रहेको जवाफ दाहालले दिएका छन्।बिकाश टाइम्सबाट

प्रतिक्रिया दिनुहोस