प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान  गरिएको सर्बदलिय बैठकमा के के कुरा उठे

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेको सर्वदलीय बैठकमा अधिकांश नेताहरूले सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेका कारण पछिल्लो गतिविधि भएको धारणा राखेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा स‌घीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरे । पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने उनको भनाइ थियो ।

 

कोभिड-१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसद अधिवेशन चाँडो बोलाउनुस् : कांग्रेस 
कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेसको तर्फबाट धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले चाँडो अधिवेशन बोलाउन माग गरेका हुन् । ‘अध्यादेशले शासन चलाउने सुविधाको बाटो किन रोज्नुभयो’ भन्दै उनले भनेका छन्, ‘संसद अधिवेशन चाँडो बोलाउनुस्, प्रतिगामीको धज्जी त्यहीबाट उडान्छ । संसदबाट संकल्प प्रस्ताव पारित गरौं ।’ सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको कांग्रेसको ठहर छ । परिवर्तन र संविधानको मर्म प्रधानमन्त्री ओलीले बुझ्न नसकेको पौडेलको भनाइ छ ।

‘तपाईँको भूमिका समन्वयकारी हुनुपर्ने हो । त्यो देखिएन । राजा जे कारणले हटाइयो त्यसलाई बिर्सेर राष्ट्रपतिको जुन तामभलाम देखिएको छ । त्यसको प्रभाव परेको छ आजको अवस्था ल्याउन ।’ उनले भनेका छन् ।

राजावादीहरूको आन्दोलनमा नैतिक समर्थन : राप्रपा
त्यस्तै राप्रपाले राजावादीहरूको आन्दोलनमा नैतिक समर्थन रहेको जनाएको थियो । राप्रपाका नेता दीपक बोहोराले संविधानप्रति समर्थन रहेको र राजावादीहरुको आन्दोलदनमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए । संविधानभित्र राजालाई संसदको मातहतमा राखेर अगाडी बढ्न सकिन्छ भन्ने बिकल्प दिएको तर प्रधानमन्त्रीबाट जवाफ नभएको उनको भनाइ छ ।

राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रका विषयमा सर्वदलीय बैठक राखेर निर्णय गर्न माग पनि गरेको उनले बताए । पछिल्लोपटक राजावादीहरुले देशका विभिन्न शहरमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस