बर्तमान कम्युनिष्ट सरकार काेराेना भाइरस  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोभिड १९ ले बिश्व समुदायलाई आतंकित बनाएजस्तै कम्युनिस्ट नेतृत्वको सरकारले नेपालमा संघीयता र लोकतन्त्रमाथि आतंक मच्चाएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसले सरकारबिरुद्ध सोमबार गरेको देशव्यापी प्रदर्शनका क्रममा भक्तपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले कम्युनिष्ट सरकारलाई कोभिड २०७७ को संज्ञा दिए।

लोकतन्त्रान्त्रिक बिधिबाट सत्तामा पुगेको नेकपा नेतृत्वको सरकारको लोकतन्त्र विरोधी र दमनकारी नीति लोकतन्त्रमा बिश्वास गर्नेहरुका लागि सह्य नभएको उनको भनाई थियो। कांग्रेस उपसभापति निधिले कम्युनिष्ट सरकारले सत्तामा बस्ने नैतिक र राजनैतिक अधिकार गुमाइसकेको दाबी गरे। यो कुरा बिपक्षी कांग्रेसले मात्र नभई नागरिक समाज र स्वयं सत्तारुढ दलकै अधिकांश जिम्मेवार नेताहरुले सार्बजनिक रुपमा बताइसकेको निधिले स्मरण गराए।

भ्रष्टाचारीको मुख पनि हेर्दिन भनेर अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी ओलीले नै भ्रष्टाचारीलाई संरक्षण दिएको उनले बताए। बालुवाटारको जग्गा प्रकरणदेखि स्वास्थ्य सामग्री खरिदसम्मका काममा सरकारका जिम्मेवार मन्त्रीको संलग्नता रहँदा पनि प्रधानमन्त्री ओली टुलुटुलु हेरेर बसिरहेको भन्दै निधिले प्रश्न गरे ती सबैलाई संरक्षण गर्ने ओली नभएर अरु को हुन् त? उनले भ्रष्टाचारीलाई संरक्षण गरेर सरकारले कानुनी राज्यको खिल्ली उडाएको टिप्पणी गरे।

सरकारका यस्ता गतिबिधिको बारेमा जनप्रतिनिधिले प्रश्न उठाउने संसद अधिबेशन हठात स्थगित गर्नुको मुख्य कारण भ्रष्टाचारीलाई संरक्षण गर्नु नै भएको निधिले प्रष्ट पारे। उनले संसद अधिबेशन स्थगित गरेर सरकार अधिनायकबादतिर उन्मुख भएको आरोप लगाए। नेता निधिले तत्काल संसद बैठक बोलाउन पनि सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस