काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले यही पुस २४ गते देशबासीसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको छ । सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन सम्बन्धी कदमको विरोधका लागि दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो । राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले नयाँ आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका हुन् । यो समूहले प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन गर्ने प्रयास गर्दै आएको थियो । कांग्रेसले आन्दोलनमा जाने निर्णय नगरेपछि शनिबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कांग्रेससँग प्रतिनिधिसभा विघटनका विषयमा समान धारणा भए पनि आन्दोलनका कार्यक्रम भने आ–आफ्नै ढंगले अगाडि बढाउने तयारी स्वरुप दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको श्रेष्ठको भनाइ छ । यी हुन् आन्दोलनका कार्यक्रम – २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन। – २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम। – २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम। – २०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र। विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने। – २०७७ पुस २६ गते सडक संविधान वाचन-व्याख्या कार्यक्रम। – २०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम। – २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडामा व्यानर राख्ने कार्यक्रम। – २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला। – २०७७ माघ २ गते गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा। – २०७७ माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा। – २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली। – २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा। माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा। – २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस। – २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा। – यस बीचमा उद्योग व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम र लेखक-कलाकार, सांस्कृतिककर्मी र बुध्दिजीवीको विशिष्ट प्रकारको कार्यक्रम आयोजना गरिने।
– २०७७ पुस २० गतेसम्म गपालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम।