सर्वोच्च लाई राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जवाफ

काठमाडौं । राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जवाफ  पठाएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा सर्वोच्च अदालतले जवाफ मागेपछि आज राष्ट्रपति कार्यालयले जवाफ पठाएको हो ।

नेकपामा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाए पनि सर्वोच्चाको संवैधानिक इजलासले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पठाउन आदेश गरेको थियो ।

 

सोहीअनुसार आज राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेलले लिखित जवाफ पेस गरेका हुन् । जसमा “संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य-मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम संसद्‌को वर्तमान प्रतिनिधिसभा विघटन गरी नेपाली जनतासमक्ष ०७८ वैशाख १७ र २७ गते अर्को प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति तोक्ने कार्य भएकाले सो कार्य संविधानसम्मत नै हुँदा निवेदकको रिट निवेदन बदरभागी हुँदा खारेज गरिपाऊँ ।”

त्यस्तै, नेपालको संविधानको धारा ६६ को उपधारा (२) मा नेपालको संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ भन्ने व्यवस्थाअन्तर्गत नै प्रतिनिधिसभा विघटन गरिएको पनि जवाफमा उल्लेख छ । मन्‍त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस