संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च मा बहस  जति बेला मन लाग्यो संसद विघटन? जति बेला मन लाग्यो चुनाव?’

काठमाडौँ- संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि सुरु भएको छ। यसअघि शुक्रबारसम्म संवैधानिक इजलासमा बहस अगाडि बढाउने कि पूर्ण इजलासमा जाने भन्नेबारे सुनुवाइका क्रममा इजलासले संवैधानिक इजलासमै बहस अघि बढाउने निर्णय गरेको थियो।

आइतबारदेखि इजलास मूल विषयमा प्रवेश गरेको हो।

आइतबार संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा चार अधिवक्ताहरु सुनील पोखरेल, भीमार्जुन आचार्य, गिरिराज भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए।

उनीहरुले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उल्लेख गर्दै संविधानले संसद विघटनको कल्पना गरे पनि संसद विघटनअघि अपनाउनुपर्ने पूर्वसर्त नअपनाएको बताएका थिए।

अधिवक्ता पोखरेलले बहसका क्रममा भने, ‘पुष्पकमल दाहाल र माधवकुमार नेपालले असहयोग गरे भनेर उहाँले पटकपटक भन्नुभएको छ। पार्टीभित्र उहाँलाई भएको असहयोगको दोष निर्दोष संसदमाथि पोख्न पाइँदैन।’

उनले जतिबेला मन लाग्यो त्यत्तिबेला चुनावमा जान्छु भन्नु जायज नभएको उल्लेख गर्दै जनतालाई खोप लगाउन पैसा छैन भन्ने चुनावमा जान अर्बौँ रुपैयाँ खर्च कहाँबाट आउँछ भनी प्रश्न गरेका थिए।

‘पार्टीभित्र उहाँलाई सहयोग भए पनि संसदले असहयोग गर्‍या छैन नि। के आधारमा संसद विघटन गर्नुभयो? संसद विघटन गर्न मिल्छ?’ पोखरेलको प्रश्न थियो।

पक्ष र विपक्षका अधिवक्ताहरुले धारणा राख्ने क्रम आइतबार सुरु भएकाले संसद विघटनसम्बन्धी बहस लम्बिने देखिएको छ। आइतबारको बहस सकिएको छ भने सोमबार यस विषयमा निरन्तर बहस हुनेछ।

प्रतिक्रिया दिनुहोस