नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा छलफलका लागि निर्वाचन आयोगले दुवै अध्यक्षलाई शुक्रबार बोलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा छलफलका लागि निर्वाचन आयोगले दुवै अध्यक्षलाई शुक्रबार बोलाएको छ ।

बिहीबार निर्वाचन आयोगले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेख्दै छलफलका लागि बोलाएको हो । निर्वाचनत आयोगका सहसचिव प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान ११ बजेपछि छलफलका लागि बोलाइएको बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका कानुनका जानकार आधिकारीक पाँच–पाँच जनालाई बोलाइएको हो ।

नेकपा विवाद चर्किदै जाँदा आयोगले ओली र प्रचण्ड नै अध्यक्ष भएको भन्दै यसअघि नै आधिकारिकता विवादको अन्त्य गरेको थियो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले ओलीलाई कारबाही गर्दै आफ्नो समूह आधिकारिक भएको दाबी गरेको थियो ।

प्रधानमन्त्री अ‍ोलीले आगामी वैशाखामा मध्यावधि निर्वाचनको मिति तोकेको अवस्थामा आयोगले दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय नजिकिएपछि छलफलका लागि दुवै नेतालाई बोलाएको हो । नेता र उनका आधिकारिक प्रतिनिधिसँग निर्वाचनसम्बन्धी कानुनमाथि छलफल गर्ने तयारी गरेको प्रवक्ता श्रेष्ठले बताए ।

आयोगले यसअघि नै दुवै पक्षको दाबी नपुग्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस