प्रतिनिधिसभा विघटनको मुद्दा फैसला कहिले हुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । सर्वाेच्चकाे संवैधानिक इजलासमा आजदेखि रिट निवेदकहरूले जवाफ दिने छन् ।

कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटको विरुद्धमा (सरकारकाे प्रतिरक्षामा) गतको माघ १९ गतेदेखि कानुन व्यवसायीहरूले बहस सुरु गरेका थिए । उक्न बहस बिहीबार सकिएकाे छ । त्यसअघि रिट निवेदकहरूका वकिलले बहस गरेका थिए ।

आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ ।

 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयको खारेजी र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस