राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा नेपालगञ्जमा  जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा

नेपालगञ्ज, फागुन ४ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा मंगलबार नेपालगञ्जमा  जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामाआयोजना गरेको छ । सो प्रतियोगितामा  पुस्तकको महत्व विषयक बक्तृत्वकलामा साइनिङ स्टार स्कुल कोहलपुरकी छात्रा बर्षा पाण्डेले प्रथम स्थान हासिल गर्नुभएको छ ।

लक्ष्मी मावि मदुईकी श्रृष्टि शर्मा दोस्रो तथा ज्ञानज्योति मावि चप्परगौडीका प्रकाश थापा तृतीय हुनुभएको छ । प्रतियोगितामा त्रिभुवन मावि कोहलपुरकी समिका थापा र मंगल मावि नेपालगञ्जका पंख रोकायले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गिरीराज पौडेल, रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरी र भेरी साहित्य समाजका महासचिव लेकप्रसाद प्याकुरेल निर्णायकका रुपमा रहनुभएको थियो । विजयी प्रतियोगी तथा सहभागीहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त लामिछाने र बाँके शाखा अध्यक्ष शालिक सुवेदीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

२३ वटा विद्यालयका २३ जना छात्रछात्रा सहभागी प्रतियोगितामा प्रमुख अतिथि लुम्बिनी प्रदेश अध्यक्ष लामिछानेले पुस्तकको महत्वलाई हृदयंगम गर्दै पुस्तक पढ्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि साहित्कार सनत रेग्मीले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकाले नयाँ पुस्ताले पुस्तकको महत्वलाई बुझ्नुपर्नेमा जोड दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले पढेर कहिल्यै नसकिने भन्दै जीवन पर्यन्त पुस्तकको महत्व कहिल्यै नघट्ने उल्लेख गर्नुभयो ।

आदर्श मावि नेपालगञ्जका प्रिन्सिपल विरभान केसीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवदीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रदिप सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस