न्याय परिषद्लेे न्यायाधिशका लागी सिफारीस

काठमाडौं । सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै, न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस भएका छन् । त्यस्तै, कानुन मन्त्रालयका सचिव ऋषिराज भण्डारी उच्च अदालत पोखराको न्यायाधीश सिफारिस भएका छन् ।

त्यस्तै, उच्च अदालत पाटन हेटौंडा इजलासका रजिस्ट्रार रामेश्वर रेग्मी उच्च अदालत जनकपुर र सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल उच्च अदालत तुलसीपुर बुटवल इजलास सिफारिस भएका छन् ।

७ जिल्ला न्यायाधीश उच्च अदालतमा सिफारिस
त्यस्तै, सातजना जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । जसमा जिल्ला अदालत तनहुँका न्यायाधीश जगतनारायण प्रधान उच्च अदालत विराटनगर, म्याग्दीका माधवेन्द्र गिरी उच्च अदालत तुलसीपुर, काभ्रेका पुरुषोत्तम ढकाल उच्च अदालत नेपालगन्ज इजलासमा सिफारिस भएका छन् ।

जिल्ला न्यायाधीश विष्णु सुवेदी उच्च अदालत पाटन हेटौंडा इजलास, अर्जुनप्रसाद कोइराला उच्च अदालत जनकपुर वीरगन्ज इजलास, अमृतबहादुर बस्नेत उच्च अदालत पाटन र मेदिनीप्रसाद पौडेल उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सिफारिस भएका छन् ।

सात अधिवक्ता पनि उच्चमा न्यायाधीश
त्यस्तै, सातजना अधिवक्ता पनि उच्च अदालतमा न्यायाधीश सिफारिस भएका छन् । न्यायपरिषद्ले आज रसुवाका अधिवक्ता फुर्वा तामाङलाई उच्च अदालत विराटनगर धनकुटा इजलास, सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई उच्च अदालत पोखरा, सुनसरीका जगदीश घिमिरेलाई उच्च अदालत पाटनको न्यायाधीश सिफारिस गरेको हो । त्यस्तै, कञ्चनपुरकी अधिवक्ता पुनम सिंह (चन्द) लाई उच्च अदालत सुर्खेत, काभ्रेका सागर विष्टलाई उच्च अदालत दिपायल, सिरहाका गणेश ठाकुरलाई उच्च अदालत विराटनगर धनकुटा इजलास र भक्तपुरकी निर्मला शाक्यलाई उच्च अदालत पाटन हेटौंडा इजलासमा न्यायाधीश सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस