हिन्दूहरूको एउटा पौराणिक शास्त्रीय मान्यता छ अर्धनारीश्वर, अर्थात एउटै देहमा नर र स्त्री दुबै शरीरको उपस्थिति। भगवान् शिवको एउटा रूप अर्धनारीश्वरका मन्दिर र प्रायः जसो अन्य शिव अथवा देवीका शक्तिपीठहरुमा अर्ध नारीश्वरका विग्रह रहेको पाइन्छ। यस्ता विग्रहमा भगवान् शिव र उनको अर्धाङ्गिनी शक्तिलाई चित्रित गरिएको हुन्छ।
“Classification phylogénétique du vivant (Vol. 2)” – Lecointre and Le Guyader (2001) का अनुसार अहिलेसम्म पत्ता लागेका ७७ लाख प्राणी प्रजातिमध्ये झण्डै १ प्रतिशत प्राणी प्रजाति अर्थात झण्डै ६५ हजार द्विलिंगी रहेका छन। यी सबैले आफै प्रजनन क्रिया (self-fertilization.) गर्छन। यिनले सहवास र सम्भोग खातिर अन्य शरीरको खोजी राख्नु पर्दैन।
पुरानो ग्रीक मान्यतामा पनि हिन्दूहरुका झै अर्धनारीश्वरको मान्यता व्याप्त थियो। वर्तमान युगमा ‘यूनाइटेड नेसन्स फर ह्युम्यान राइट्स’ले द्विलिंगीलाई ‘इंटरसेक्स’ (intersex ) नामकरण गरेको छ।
केहि समय अघि अमेरिकाका एकजना पक्षी प्रेमीले भर्खरै एउटा यस्तो पक्षीको तस्वीर खिच्ने अवसर पाएका छन् जुन पक्षीको आधी शरीर नर र आधा शरीर स्त्री अंगले सम्पन्न छ। अमेरिकाको पेन्सिलभानियामा बस्ने एकजना पक्षीविद जेम्स अर हिल तृतीयले एउटा यस्तो दुर्लभ पक्षीको तस्वीर खिचेका छन् जुन पक्षीको आधा शरीर नर र आधा स्त्रीको रहेको छ। जेम्स भन्छन्- यस्तो पक्षी जीवनमा एक पटक हेर्न पाउनु पनि ठूलो सौभाग्य हो। उनका अनुसार यस पक्षीको शरीर बीचबाट रंगले विभाजित छ। शरीरको एउटा रंग नर र अर्को रंग स्त्री शरीरलाई प्रतिबिम्बित गर्छ।
उनका अनुसार यो अति असामान्य घटना हो। पक्षीमा यो रूपान्तरण ‘डबल फर्टिलाइजेशन’ का कारण हुन आएको हो। यस ‘डबल फर्टिलाइजेशन’ प्रक्रियामा एउटा स्त्री डिम्बमा दुइवटा पुरुष शुक्राणु पसेर निषेचित हुँदा दुईवटा ‘जाइगोट’ (zygote) विकसित हुन पुग्छन। कालान्तरमा यी दुबै ‘जाइगोट फ्यूजन’ भएर एक भई जन्मिदा द्विलिंगी जन्मिने संभावना हुन्छ। अर्थात यसरी जन्मिने प्राणीको शरीरमा दुबै लिंगका ‘सेक्स अर्गन्स’ (sex organs ) हुन्छन्।
जेम्सले खिचेको तस्वीर एउटा कार्डिनल पक्षीको हो, यो घर पालुवा पक्षी हो। कार्डिनल पक्षी उत्तरी र दक्षिणी अमेरिकामा पाइन्छ । यस प्रजातिका पक्षीहरूमा नर कार्डिनलको रंग रातो र स्त्री कार्डिनल पक्षीको रंग सेतो हुन्छ। जेम्सले तस्वीर खिचेको कार्डिनलको रंग आधा रातो र आधा सेतो रहेको छ।