पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेमा नेतृत्वमा किशोर आचार्य निर्वाचित

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको नेतृत्वमा किशोर आचार्य निर्वाचित भएका छन् । शनिबार भएको सातौं जिल्ला अधिवेशनबाट आचार्य निर्वाचित भएका हुन् ।

अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनका लागि अग्रजहरुले गरेको प्रयास सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको महासंघमा आचार्यसँग मन्दिरा पाण्डे प्रतिस्पर्धी भइन् । आचार्यले ८६ मत ल्याउँदा पाण्डेले ५९ मत ल्याइन् ।

निर्वाचन अधिकृत सतिश निरौलाका अनुसार, अध्यक्षसँगै द्वितीय उपाध्यक्ष र सचिव मतदान भएको हो । प्रथम उपाध्यक्षमा सागर ज्ञवाली, सहसचिव मोतिप्रसाद सुवेदी, कोषाध्यक्ष मोहन चन्द सहित कार्यसमितिका १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

द्वितीय उपाध्यक्ष प्रदिप सापकोटाले ९२ ल्याई बिजयी भए भने निकटतम प्रतिद्वन्द्वी असरफ खानले ५४ मत प्राप्त गरे । सचिवमा मिना डाँगीले ७५ मत ल्याई विजयी भएकी छन् भने निकटम प्रतिद्वन्द्वी सविन लुइँटेलले ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत निरौलाले जानकारी दिए ।

कार्यसमिति सदस्यहरुमा जगदिश ढकाल, कल्पना पौडेल, गोविन्द शर्मा, सुशिल कुमार शर्मा, प्रकाश कंडेल, राजुराज शर्मा, दिलिप रेग्मी निर्विरोध भए । त्यस्तै, निर्विरोध हुनेमा लक्ष्मण कार्की, प्रदिप आचार्य, कृष्ण थापा, तारा प्रसाद खनाल, दिनेश रिमाल, क्षितिज गौतम र कृष्ण अधिकारी छन् ।

त्यसअघि महासंघको १४ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनहरी वस्यालले नीतिगत समस्याहरुलाई सम्बोधन गर्दै व्यवसायिक हित प्रवद्र्धनका लागि आफुहरु लागि परेको बताए । विशिष्ट अतिथि, प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर हमालले प्रदेश स्तरीय सामुदायिक पुस्तकालयका लागि महासंघबाट गरिएको प्रस्तावमा आफुले सकारात्मक पहल लिने प्रतिबद्धता जनाए ।

महासंघका शाखा अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले कोरोना कहरका कारण धराशयी हुँदै गएको व्यवसायिक क्षेत्र सम्हाल्न सरकारको सहयोग अपेक्षा गरे । साधारणसभाको बन्द सत्रमा सचिव प्रदिप सापकोटा, कोषाध्यक्ष मिना डाँगीका सांगठनिक तथा आर्थिक प्रतिवेदन अनुमोदन हुनुका साथै आगामी कार्ययोजनासँगै संस्थागत विकासका विभिन्न योजनाहरुमा छलफल भएको महासंघका शाखा संस्थापक अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस