कैलालीको लम्‍कीमा गोली चल्यो, २ जना घाइते

बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढेपछि स्थिति नियन्त्रणमा ल्याउन हवाई फायरिङ गरेको बताए ।

उनकाअनुसार सो क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

युवतीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्नुका साथै ढुङ्गामुडा प्रहार गरेका थिए ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस