बाँके निकुञ्जको खोरबाट भागेको पाटेबाघ निकुञ्जको चुरे घोच क्षेत्रमा पुगेयो अब बस्तीमा फर्किँदैन’

देशसंचारबाटबाँके निकुञ्जको खोरबाट    भागेको पाटेबाघ निकुञ्जको चुरे घोच क्षेत्रमा पुगेको बाँके राष्ट्रिय निुकञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन्।

मानिसमाथि आक्रमण गरेकाले उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जलाई बुझाइएको थियो।

चैत ५ गतेदेखि बाँके राष्ट्रिय निकुञ्जको ‘टाइगर होल्डिङ सेन्टर’ मा राखिएको १० वर्षको वयश्क बाघ मंगलबार बिहान डण्डी बंग्याएर भाग्न सफल भएको थियाे।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा पछिल्लो करिब दुई वर्षको अवधिमा बाघको आक्रमणबाट १९ जनाको ज्यान गएको तथ्यांक छ।

खोरको फलामे डण्डी बंग्याएर भागेको बाघ निकुञ्जको सुनसान चुेर घोँच क्षेत्रमा पुगेको प्रमुख संरक्षण अधिकृत साहले बताए। उनले भने, ‘खोरबाट गएको पाइला पछ्याउँदै जाँदा बाघ निकुञ्जको चुरे क्षेत्रमा गएको देखिन्छ। गर्मी याममा पानी भएको तथा घोच क्षेत्रमा गएकाले खासै समस्या होला भन्ने लाग्दैन।’

बर्दियामा नियन्त्रणमा लिइएकाे बाघ। याे बाघलाई नियन्त्रणमा लिएर खाेरमा राखिएकाे भए पनि भाग्न सफल भएकाे छ।

मानवीय गतिविधि नहुने वन क्षेत्रमा बस्न रुचाउने प्राणी बाघ रहेको बताएका साहले अहिले खोरबाट भागेको बाघ गएको क्षेत्र सो अनुरुपको भएको उल्लेख गरे। बाघ भागेपछि निकुञ्ज आसपासका बासिन्दालाई सचेत पारिएको र आफूहरुले निगरानी पनि गरिरहेकाले आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए।

तर खोरमा राखिएको बाघ भाग्नुमा केही कमजोरी भएको उनले स्वीकार गरे। प्रमुख संरक्षण अधिकृत साहले भने, ‘हामीले बनाएको संरचनाको परीक्षण भएकै थिएन। सामान्य अवस्थामा बुढो या बिरामी भएको बाघसहितका जनावर राख्ने भनेर बनाइएको संरचना थियो। बर्दियाबाट ल्याइएको बाघ वयश्क र बलियो रहेकाले भाग्न सफल भएको देखिन्छ।’

यो घटनाले आफूहरुले बनाएका संरचनाहरुको पुनरावलोकन गर्नु पर्ने देखिएको साहले बताएका छन्। उनले भने, ‘यस्तो भइरपरि आउँछ भन्ने भएन। अब हामी वयश्क बलियाे बाघ नियन्त्रणमा राख्नका लागि पनि तयार हुनु पर्ने देखियो। सो अनुसार संरचनाको पुनरावलोकन हुन्छ।’

यति हुँदा हुँदै पनि बाघको प्रकृतिबारे भने विचार गरिनु पर्ने प्रमुख संरक्षण अधिकृत साहले बताए। उनले भने, ‘बाघ प्राकृतिक वातावरणमै रमाउने जनावर हो। यहाँ नियन्त्रित खोरमा बस्दा उ तनावमा आयो र तोडेर भाग्यो। त्यस क्रममा कुनै क्षति भएन त्यो खुशीको कुरा हो। अर्को राम्रो पक्ष उ उपयुक्त बासस्थानमा गएको छ।’

बाघ पुगेको क्षेत्रमा पानी तथा बासबस्नका लागि घोचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको उनले बताए।  ‘तर हामीले स्थानीय बासिन्दालाई सचेत बनाउने र निगरानी भने निरन्तर जारी राख्ने छौँ’ उनले भने ।

यस्तै बाघ विज्ञ डा. चिरण पोखरेलले पनि बाघलाई नियन्त्रित गर्नु भन्दा प्राकृतिक वातावरणमा स्वतन्त्र छोड्नु नै उपयुक्त रहेको बताए।

बाघबारे विद्यावारिधी गरेका पोखरेलले भने, ‘खोर तोडेर बाघ भाग्नु पक्कै पनि राम्रो होइन । यसले खोरको संरचनाप्रति गम्भीर प्रश्न खडा गर्छ नै। बाघ भाग्ने क्रममा दुर्घटना हुन सक्थ्यो । तर भागेको बाघ चुरे क्षेत्रमा गएको हो भने तत्कालका लागि डराउनु पर्ने अवस्था हुँदैन। सो क्षेत्र बाघकै लागि उपयुक्त पनि हो।’देशसंचारबाट

प्रतिक्रिया दिनुहोस