ओली भदौसम्म प्रधानमन्त्री, प्रचण्ड कहिल्यै प्रधानमन्त्री हुननसक्ने, कांग्रेसको भावी सभापति शशांक’ ज्योतिषिको भविष्यवाणी

 नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अब प्रधानमन्त्री हुननसक्ने दावी गरिएको छ । दाहालको ग्रहदशा अनुसार उनी दुइ पटक प्रधानमन्त्री भैसकेपछि अब कुनै पनि राजकीय स्थानमा मुख्य भूमिकामा रहने सम्भावना नरहेको एकजना चर्चित ज्योतिषिले दावी गरेका हुन् ।

ज्योतिषि उदयराज निरौलाले भनेका छन् –‘प्रचण्डजी दुइपटक प्रधानमन्त्री हुनुभयो तर असफल प्रधानमन्त्री । उहाँ पर्दापछाडिबाट राजनीति गर्नमा सक्षम हुनुहुन्छ तर अगाडि आएर राजनीति गर्न अब कुनै सम्भावना देखिँदैन । आउँदो वैशाखसम्म त कुनै पनि चान्स छैन ।’

 उनले वर्तमान सरकारले पाँच वर्ष शासन नगर्ने पनि भविष्यवाणी गरेका छन् । देशमा अझै द्वन्दको सम्भावना नसकिएकाले यो सरकार वीचैमा असफल हुने र सत्तारुढ दल नै टुक्रिएर अर्को समीकरणको सरकार बन्ने उनको दावी छ । निरौलाले ठोकुवा गरेका छन्–‘२०७६ सालको भदौ महिनामा केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हट्ने छन् र अर्को किसिमको सरकार अस्तित्वमा आउने छ ।’ उनले वर्तमान नेकपा नफुट्ने तर यसबाटै एउटा असन्तुष्ट भँगालो छुट्टिएर सरकार अप्ठेरोमा परेर नयाँ परिस्थिति आउने बताएका छन् ।

अबको कांग्रेस सभापति शशांक

ज्योतिषि निरौलाले नेपाली कांग्रेसको अबको सभापति शशांक कोइराला हुने बताएका छन् । उनको तर्क छ–‘कोइरालाको कुण्डली यति बलियो छ कि उनलाई सभापति हुनबाट कसैले रोक्न सक्दैन ।’ निरौलाले ठोकुवा गर्दै भनेका छन्–‘लेखेर राख्नोस्,शतप्रतिशत कांग्रेसको भावी सभापति भनेको शशांक कोइराला नै हुन् ।’

निरौलाले वर्तमान सभापति शेरबहादुर देउवाको चिना र कुण्डली धेरैपटक हेरिसकेको बताउँदै देउवा स्वयं पनि चिना हेर्न जान्ने कुरा सुनाए । तर उनले देउवाले फेरि पनि सभापति हुन चाहनु उनको ठूलो भूल हुने दावी पनि गरे । दुइदिन अघि शिखर टेलिभिजनसँग कुराकानी गर्दै ज्योतिषि निरौलाले पूर्व राजा ज्ञानेन्द्रको सक्कली कुण्डली हेर्न नपाएकाले उनका बारेमा केही पनि बताउन नसक्ने पनि सुनाए । उनका अनुसार,बजारमा आएको कुण्डलीमा गरिएको चर्चा सही नभएको भन्दै त्यस्ता कुण्डलीको आधिकारिकता नै नभएको पनि दावी गरे ।

देशमा अझै स्थिरता आउन नसक्ने बताउँदै निरौलाले अबको ४३ महिना पछि अर्को निर्वाचन भएपछि मात्र राजनीतिक स्थिरता सुरु हुने दावी गरेका छन् ।

जतिसुकै प्रयाश गरेपनि राप्रपा मिल्दैन भनेर पनि उनले ठोकुवा गरिदिएका छन् । सरल पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस