कोहलपुर नगर बिकाश समितीका अध्यक्ष अवराज  खड्कालाई चुनौती आरोप पुष्टि गर सांसद पद छोड्न तयार छु सांसद  पुर्णा सुवेदी

नेकपाका नेता पुर्णा कुमारी सुवेदीले कोहलपुर बसपार्कका विषयमा आफुलाई लक्षित गरेर लेखिएको समाचार र लगाइएको आरोप प्रति आपत्ती ब्यक्त गरेकी छन् । मंसिर ६ गते काठमाडौंवाट प्रकाशित एक पत्रिकामा करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने शिर्षक राखेर समाचार छापिएको थियो । उनले सो समाचारप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएकी छन् । सिमित व्यक्तिको निहित स्वार्थका कारण आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको ठहर रहेको भन्दै उनले आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।

 

शुक्रवार विज्ञप्ती जारी गर्दै कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति समेत रहेकी सुवेदीले आफ्नो राजनितिक जिवन समाप्त पार्ने षडयन्त्र स्वरुप सो भनाई आएको उल्लेख गरेकी छन् ।  नगर बिकास समिति कोहलपुरका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता अवराज खड्काले समाचारमा समितिको निर्णय भनि दिएको प्रतिक्रियासँग मेरो कुनै सम्बन्ध नरहेको प्रष्ट पार्न चाहन्छु । मैले मानवीय संवेदनामा आधारित भएर संसदको सून्य समयमा उक्त जग्गामा बसोबास गरिरहेकाहरुको उचीत बैकल्पिक व्यवस्था गरिनुपर्ने माग राखेकी हुँ । संसदमा बोलेको उक्त तथ्यलाई तोडमोड गरेर सञ्चार माध्यममार्फत भ्रम छर्ने, घटनालाई कल्पनाका फूलबुट्टा भरेर अतिरञ्जित बनाउने काम कदापी शोभनीय हुन सक्दैन, विज्ञप्तीमा भनिएको छ ।

उनले अर्कालाई आरोप लगाउनु अघि नगर बिकास समितिका अध्यक्ष खड्कालाई आफ्नो बिगत र बर्तमान नियाल्न समेत आग्रह गरेकी छन् । खड्कालाई ठेक्का पट्टाको रेट आफै निर्धारण गर्ने, अध्यक्ष खड्कालाई प्रति परिवार एक लाख रुपैयाँ उठाएको र त्यो रकम मलाई दिइएको भन्ने आरोप पुष्टि गर्न म चुनौति दिन्छु उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् । उनले उक्त आरोप पुष्टि गरे आफु सांसद पदबाट राजिनामा दिई जस्तो पनि सजाय भोग्न तयार रहेको बताएकी छन् । साथै, उनले उक्त आरोप लगाउने खड्कालाई लागेका आरोप प्रमाणित गर्न र कानूनी दायरामा आउन चेतावनी दिएकी छन् ।

कोहलपुर बसपार्कमा बिगत ३० बर्षदेखि बसोबास गर्दै आएकाहरुले नेता सुवेदीको आडमा सरकारी जमिन हडपेर बसेको भन्दै नगरविकास समितिका अध्यक्ष खड्काले सुवेदीलाई विकास विरोधीको संज्ञा दिएका थिए । उनले नेता सुवेदीलाई कोहलपुर बसपार्कमा बसेकाहरुवाट प्रति घर एक लाख रुपैया उठाएर लिएको आरोप समेत लगाएका थिए । सुवेदीले सो आरोप पुष्टि गर्न चेतावनी दिएकी छन् ।

उनले जनताको मानवीय संवेदनाका बिषयमा मात्र आफुले संसदमा बोलेको बताएकी छन् । सो सम्बन्धमा मैले संसदको सून्य समयमा व्यक्त गरेको बिचार पुन सबैले सुनेर मात्र धारणा बनाउनु हुन समेत अनुरोध छ । नगर बिकास समितिको जग्गा सम्बन्धमा भै रहेको बिवाद समाधान हेतु सत्य तथ्य उजागर गर्न पहल होस् भनेर म यसै प्रेस विज्ञप्ति मार्फत नागरिक समाज, राज्यका नियमक निकाय तथा हाम्रो पार्टी नेकपालाई अनुरोध गर्दछु विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस