नेपालगञ्ज म्याराथनको चौथो संस्करण सफलतापूर्वक सम्पन्न चौथो संस्करणको  उपाधी नेपाल प्रहरीका भूमिराज राईले जिते

नेपालगञ्ज – क्रियटिभ ह्याण्डसको आयोजनामा नेपालगञ्ज म्याराथनको चौथो संस्करण शनिबार गरिएको छ ।

तत्कालिन विद्रोही माओवादी र राज्य पक्षका बीचमा भएको बृहत शान्ति सम्झौता भएको मंसीर ५ गतेको सम्झनामा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसपाली भने सबै पक्षको विशेष आग्रहमा आज ८ गते शनिबार भएको छ ।

चौथो संस्करणको उपाधी उपाधी नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । राईले निर्धारित दुरी (४२ किलोमिटर) २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पूरा गरेका छन् । सशस्त्र प्रहरीका खिमबहादुर खत्री २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै खत्री द्वितिय भएका छन् । सशस्त्र प्रहरीकै गणेश ठकुरीले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेर तृतिय भएका छन् ।

बर्दियाका बलबहादुर सुनार, प्रहरीका भीमबहादुर रोकाय, प्रमोद खड्का, गोपाल बुढा र बाँकेका मोरी ग्यानरुक क्रमशः चौथोदेखि आठौ भएका छन् ।

प्रथम हुने राईले ६० हजार पुरस्कार पाएका छन् । द्वितियलाई ३० हजार, तृतियलाई २० हजार, चौथोलाई १० हजार, पाँचौलाई ८ हजार, छैठौलाई ७ हजार, सातौलाई ६ हजार र आठौले ५ हजार पुरस्कार पाएका छन् ।

हाफ म्याराथन (२१ किलोमिटर) मा कान्छीमाया कोजु प्रथम भएकी छन् । कोजु नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणको समेत विजेता हुन् ।

उनले चौथो संस्करण शनिबार एक घण्टा २२ मिनेट ४२ सेकेन्डमा पूरा गरिन् ।

हाफ म्याराथनको द्वितिय र तृतिय पनि सशस्त्र प्रहरीकै बृन्दा धान्के श्रेष्ठ र कृष्णाश्वरी सिन्तकला भएका छन् । श्रेष्ठले एक घण्टा २५ मिनेट ४४ सेकेन्ड र सिन्तकलाले एक घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए । कञ्चन पुनमगर, बत्तीसरा बम र अन्जु मल्ल क्रमशः चौथोदेखि छैठौ भए ।

हाफ म्याराथनकी विजेता कोजुले ३० हजार पुरस्कार पाएकी छन् । द्वितियले १५ हजार, तृतियले १० हजार, चौथोले ५ हजार, पाँचौले ४ हजार र छैठौले तीन हजार रुपैया पाएका छन् ।

नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । बुढाले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । यो विधामा द्वितिय माधव चौधरी, तृतिय सन्तोषनाथ योगी र चौथो प्रकाश कठायत भए ।

५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै प्रथम भइन् । अनिशा चौधरी द्वितिय, सुमित्रा चौधरी तृतिय र रेजिना बस्नेत चौथो भइन् ।

५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् ।

नेपालगञ्ज म्याराथनलाई अझ भब्य बनाउन एक किलोमिटर वाकाथन गराइएको थियो । त्यसमा प्रदीप पण्डित प्रथम भएका छन् । नेपालगञ्ज म्याराथनका अवसरमा आयोजक क्रियटिभ ह्याण्डसले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।

म्याराथनका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, काठमाडौं म्याराथन सञ्चालक निलेन्द्र श्रेष्ठ, राखेपका सदस्य विनोद मैनाली, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, बाँकेका प्रहरी प्रमृख एसपी अरुण पौडेल, राखेप सदस्य एकेन्द्र कुँवर, सिएसटी होटलका प्रबन्ध निर्देशक टोपबहादुर थापा, उद्योगपति होम पाण्डे, ओलम्पियन रघुराज वन्त, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले पुरस्कृत गरे ।

नेपालगञ्ज कोहलपुर शहर जोड्ने म्याराथनलाई भब्य बनाउन पञ्चेबाजा, प्रहरी ब्याण्ड बचेका थिए भने एकतर्फी बाटो खाली गराएर खेलाडीलाई दौड्न सजिलो बनाइएको छ । धावकको स्कटिङ साइकिलिङ क्लवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस