श्रृंखलाबद्व चोरी बढेपछि व्यवसायीहरु त्रसित

पछिल्लो समयमा कोहलपुर नगर क्षेत्रमा देखिएका श्र्रंखलाबद्व चोरीका घटनाबाट त्रसित बनेका स्थानीय व्यवसायीहरु बुधवार विहान न्यूरोड चोकमा रहेको पप लाइफ इलोक्ट्रोनिक्स पसलमा भएको चोरीको घटनापछि असुरक्षित महसुस गरेका छन् । पछिल्लो १ महिनाको अवधमिा नगरक्षेत्रमा १० वटा पसलहरुमा चोरी भएको उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव्म पप लाइफ सञ्चालक प्रदिप भट्टराईको पसलमा बुधवार विहान २ः३० बजेतिर सटरको ताला फोडेर ७ लाख ५० हजार बराबरका ३५ वटा विभिन्न ब्राण्डका मोवाइल सेटहरु चोरी भएपछि स्थानीय व्यवसायीहरुले असुरक्षित महशुस गरेको व्यवसायी उमेश उप्रेती बताउँछन् । इलाका प्रहरी कार्यालय रहेको स्थानबाट चोरी भएको स्थान बढिमा १ सय ५० मिटरको दुरीमा छ, प्रहरी कार्यालयको नजिकै चोरी भएपछि नगर क्षेत्रका अन्य स्थानका व्यवसायीहरुको अवस्था कस्तो होला ? व्यवसायी उप्रेतीले प्रश्न गरे । इलोक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्माले कोहलपुर क्षेत्रमा पछिल्लो समयमा चोरीका घटनाहरुले श्रृंखलाबद्व रुप लिने क्रम बढेसँगै प्रहरी चनाखो हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्लो समयमा कोहलपुर क्षेत्रका ७ वटा मोवाइल पसलहरुमा चोरी भएका छन् । व्यवसायिक मात्र नभई शान्ति सुरक्षाको प्रत्याभूती स्थानीय सरकार र प्रहरीबाट हुन नसकेको भन्ने आम व्यवसायीको धारणा बन्दै गइरहेको छ, यस्तो अवस्थामा प्रहरीको विशेष सुरक्षा रणनीति कोहलपुरका लागि आवश्यक छ । उनले भने ।


यता पसल चोरी भएपछि उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी भट्टराई ढुक्कसँग व्यवसाय सञ्चालन गर्न पछिल्ला समयका चोरीका घटनाहरुले चुनौती थपिदिएको बताएका छन् । व्यवसायिक सुरक्षाको प्रत्याभूती प्रशासनबाट हुन नसकेको खण्डमा व्यवसाय धरापमा पर्ने उनको भनाई छ । आम व्यवसायीहरु शान्तिपूर्वक र ढुक्कसँग व्यवसाय सञ्चालन गर्न ठुलो चुनौती थपिएको छ । जसले गर्दा व्यवसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ता हतोत्साही हुने अवस्था कोहलपुरमा देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । प्रहरीको सुरक्षा रणनीति प्रभावकारी बन्न नसक्दा चोरीका घटनाहरुले प्रश्रय पाउँदै गएको उनको धारणा छ । विशेष सुरक्षा रणनीति प्रहरीले प्रयोगमा नल्याउँदासम्म शान्ति सुरक्षा कायम हुन मुस्किल हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस