कोहलपुर हत्याकाण्डमा संलग्न दुई जना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

बाँकेको कोहलपुरमा भएको हत्याकाण्डमा संलग्न २ जनालाई बाँके प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत पौष २६ गते बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर गएका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो ।

हत्याका मुख्य योजनाकार सुर्खेत पञ्चपुरी नगरपालिका सालकोटका भरत शाही र बाँकेको राप्तीसोनारी गाँउपालिका राजपुरका युवराज गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको हो । शाहीलाई हिजो साँझ पक्राउ गरिएको थियो भने गिरीलाई आज विहान सवा ११ बजे बर्दियाको मधुवन नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

प्रहरीको विशेष टोलीले आज पक्राउ परेका हत्याका योजनाकार गिरीलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि घुँडामुनी फायरिङ गरेर नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो । अहिले उनको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको उहाँले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस