वाइड बडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको नेपाली काङ्ग्रेसका नेता डा रामशरण महत

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् ।

घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताए। “विगतको सरकारले देशभर १२÷१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भने, “विकास बजेट कसरी खर्च हुन्छ रु आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुप¥यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुप¥यो ।”

उनले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेकोसमेत आरोप लगाए। काङ्ग्रेसको नेतृत्वमा शुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामाकरण गरेको उनको आरोप थियो ।

नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताए। “सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवद्र्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ”, नेता महतले भने, “सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नैपर्छ ।”

उनले काङ्ग्रेसभित्र ठूलो समस्या रहेकोसमेत खुलासा गरे। पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको भन्दै उहाँले नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताए। “काङ्ग्रेस अहिले धेरै पछि परेको छ, पार्टीको भित्री व्यवस्थापन र नेतृत्वमा समस्या छ”, उनले भने, “नेतृत्वमा सुधार गर्दै जाने, व्यवस्थापन गर्दै जाने कुरामा हामीले कोशिश गरिराखेका छौँ र काङ्ग्रेस नयाँ दिशामा अगाडि बढ्छ ।”

उनले वाइड बडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गरे। नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस