गुण्डागर्दी र अपराध जरैदेखि निर्मूल पार्छौँ प्रहरी महानिरीक्षक

 

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजधानी उपत्यकामा हुने अपराधिक घटनालाई प्रहरीले जरैदेखि निर्मूल पार्ने बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘काठमाडौं देशको राजधानी भएकोले यहाँ हुन सक्ने गुण्डागर्दी, आर्थिक अपराध, मानव बेचबिखन, लुकेका अपराध लगायतलाई जरैदेखि निर्मूल पार्न नेपाल प्रहरी तत्पर रही काम गर्दै आएको छ’, खनानले भने, ‘यसका लागि नागरिक समाज तथा सरोकारवाला अन्य निकायलेसमेत आवश्यक सहयोग गरिरहेका छन् ।’

साइबर सुरक्षा, लागूऔषध दुर्व्यसन, महिला हिंसा जस्ता सामाजिक अपराध न्यूनीकरणका लागि प्रहरीको मात्रै प्रयासले सफल हुन नसक्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्रम लागू भएपछि प्रहरीलाई समुदायबाट राम्रो सहयोग प्राप्त भएको बताए ।

प्रहरी महानिरीक्षक खनालले उक्त कक्ष निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्ने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, काठमाडौं परिसर मातहतका नागरिक सहायता कक्षमा नि:शुल्क वाईफाई जडान गरी सहयोग गर्ने सुविसु केवल नेट प्रालि, परिसरस्थित नागरिक सहायता कक्षमा आवश्यक फर्निचर लगायत सहयोग गर्ने सामाजिक संस्थाहरु विश्वास नेपाल र संरक्षक समूह नेपालका प्रतिनिधिलाई प्रशंसापत्र दिए ।

उक्त अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै केन्द्रदेखि टोलटोल समेटन सक्ने गरी ल्याइएको समुदाय-प्रहरी साझेदारी अवधारणाले राज्य र नागरिकबीच सेतुको रुपमा कार्य गरेको चर्चा गरे ।

जम्मा १९ लाख ५० हजार रुपैयाँको लागतमा नेपाल बंगलादेश बैंकले निर्माण गरेको उक्त सहायता कक्ष महानगरीय प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरिएको हो ।

नागरिक सहायता कक्षमा सचेतनामूलक श्रव्यदृष्यको प्रशारण, विभिन्न निवेदन नि:शुल्क वितरण, तातो तथा चिसो पिउने पानीको व्यवस्था, फ्रि वाईफाईको व्यवस्था, विभिन्न सचेतनामूलक सामग्री वितरण, प्रहरी प्रकाशन र पत्रपत्रिका, नागरिक सहयोग तथा समन्वय कर्मचारीहरुबाट नागरिकलाई परामर्श समेतका सेवा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस