बसपार्कमै सवारी चालकको स्वास्थ्य परिक्षण

दुर्गा आचार्य
बर्दिया,माघ,६। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले बसपार्कमानै सवारी चालक तथा सहचालक हरुको स्वास्थय परिक्षण गरेको छ । गुलरियाबाट नेपालगञ्ज तथा राजापुर रुटमा संचालन हुने सवारी साधनका चालकहरुको आईतवार गुलरिया बसपार्कमा स्वास्थय परिक्षण गरिएको हो । स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक गोपाल ज्ञवालीले वताए । प्रहरी प्रधान कार्यालयको केन्द्रीय कार्यक्रम अनुसार स्वास्थ्य शिविर संचालन गरिएको ज्ञवालीको भनाई छ । सवारी चालकको स्वास्थयका कारण हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्धेश्यले चालकहरुलाई पायक पर्ने स्थानमानै स्वास्थय परिक्षण गरिएको ज्ञवालीले जानकारी गराए । गुलरिया स्थित सामुदायिक आँखा अस्पतालका चिकित्सक र जिल्ला अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थय जाँचमा मुख्य गरेर ब्लड पे्रशर र आँखाको जाँच गरिएको थियो । स्वास्थय परिक्षणमा बस,ट्रक,जीप÷कार र ट्रेक्टर गरि ८५ जना चालक तथा सहचालकको स्वास्थय परिक्षण गरिएको संलग्न चिकित्सक हरुले वताए । जस मध्य १२ जनामा आँखाको समस्या र २५ जनामा रक्त चाँपको समस्या परिक्षणमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधब बिश्वकर्माले आगामी दिनमा पनि स्वास्थ्य शिविरका माध्यमवाट चालकहरुको स्वास्थ्य अवस्था लिने कामले निरन्तरता पाउने बताए। प्रहरीले दुर्घटना न्यूनिकरणको लागि सचेतना कार्यक्रम मार्फत समुदाय सचेत गराईरहेको समेत उनले वताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस