हुम्लामा भारी हिमपात, हवाई सेवा बन्द  र सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात :

सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसहित  हावाहुरीले जिल्लाभरको जनजीवन कष्टकर भएको छ। सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ। अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन्।

सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ भने सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा तीन फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ।

निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी,मुचु,खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ,सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ।मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कन समेत समस्या भएको छ।हिमपात भएसँगै चौपाया पनि प्रभावित भएका छन्। चिसो बढ्नुको साथै हावाहुरी चलिरहेको छ।सोमबार रातिदेखि हिउँ निरन्तर परिरहेको छ।

हवाई सेवा बन्द
दुर्गम हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको छ। हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने वा जिल्ला आउने सर्वसाधरणलाई समेत समस्या भएको छ। हिमपातले दैनिक उपभोग्य सामानको अभाव हुने देखिएको छ।

पढाइ प्रभावित

हिमपात हुँदा एसइइ तयारी गर्न टिउसन लिने विद्यार्थीको बिहानी पढाइ बन्द भएको सन्देश बोहराले बताए। यसै गरी

सुदूरपश्चिमका पहाडि जिल्लामा वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका लेकाली गाउँ बस्ती र हिमाल सेताम्य भएका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा तेस्रो पटक हिमपात भएको दार्चुलाको मालिकार्जुन गाउँपालिका २ का वडा अध्यक्ष गणेशसिंह धामीले जानकारी दिए। उनले यस वर्ष तीनपटक हिमपात भएकोले किसानमा खुसि छाएको बताए।

पानीसँगै हिमपात भएका कारण ती जिल्लामा अत्याधिक चिसो बढेको छ।दार्चुला संवाददाता सुन्दरसिंह धामीको अनुसार जिल्लाका हिमाली गाउँपालिका व्यास, अपीहिमाल, मालिकार्जुन गाउँपालिकाको न्वालपानी, शैल्यशिखर नगरपालीका को भेरेखोला, बरमुणे, रातामाटा, काँडापारीसहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ।

हिमपात हुने क्रम अझै जारी छ। जमिनमा करिब ३ फिट बाक्लो हिउँ परेका दार्चुला महाकाली यातायात प्रालिका काउण्टर इन्चार्ज लबराज अवस्थीले जानकारी दिए। यस्तै बझाङ संवाददाताका अनुसार जिल्ला सदरमुकाम चैनपुरमा झण्डै एक फिट हिउँ जमेको छ।

सदरमुकामभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ।  हिमपातले जिल्लाको सैपाल, मस्टा, तलकोट र चिरबिथ्थड गाउँपालिकामा बाक्लो हिमपात भएर जावतआवत बन्द भएको स्थानीय रमेश केसीले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस