बाँकेमा जारी अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा गोलको बर्ष

नेपालगञ्ज – धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा चलिरहेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार गोलको वर्षा भएको छ ।
दुई वटा खेलमा १८ गोल भएको छ । बाँके शिक्षाले अमर माविलाई १०–० गोलले पराजित गरेको छ । बाँके शिक्षाका अमित पौडेलले ह्याट्रिक गरेका छन् । खेल शुरु भएको तीन मिनेटमै गोल गरेर खाता खोलेका अमितले १५ मिनेट र मध्यान्तरपछिको दोस्रो मिनेटमै गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।
बाँके शिक्षाका रविन्द्र थापामगर, प्रेमबहादुर थापा, सुजन रोक्काले दुई÷दुई र पूर्णसिंह थापाले एक गोल गरेका छन् । बाँके शिक्षाले अमर माविलाई निरन्तर दबाब बढाएको थियो । शारीरिक रुपमा पनि बाँके शिक्षाका भन्दा अमर माविका विद्यार्थी कमजोर देखिन्थे ।
अर्को खेलमा बाल विद्या मन्दिरले ट्राइबेकरमा होप इन्टरनेशनललाई पराजित गरेको छ । निर्धारित समयमा भने एक÷एक गोल भएको थियो । खेल शुरु भएको तीन मिनेटमै सागर केसीको गोलबाट अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा होप पराजित हुन पुग्यो । बाल विद्या मन्दिरका दिपक कार्कीले मध्यान्तरपछि गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
ट्राइबेकरमा बाल विद्या मन्दिर ४–२ गोलले विजयी भयो । होपका खेलाडीले पोष्ट बाहिर बल हाल्दा टोली प्रतियोगिताबाट बाहिरियो ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मावि÷उमावि छात्र फुटबल प्रतियोगिताको पहिलो चरण सकिएको छ । २४ वटा स्कूल सहभागी भएकोमा १२ वटा ‘आउट’ भएका छन् । संघका अध्यक्ष भोजराज शाहीका अनुसार, शुक्रबार पहिलो खेल जिभिएन र जनता नमूना तथा दोस्रो खेल जनज्योति पब्लिक र ब्राइटल्याण्ड कलेजका बीचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस