राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण हुने

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण हुने भएको छ।

यसअघि कमल थापा सहितको राप्रपाको एकीकरण भएकोमा केही समयमै तीन टुक्रा भएपछि कमल थापाले राप्रपाको नेतृत्व गर्दा पशुपति शमसेर जवराले राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले राप्रपा राष्ट्रवादीको नेतृत्व गर्दै आएका छन्।

अहिले राणा र लोहनी नेतृत्वको राप्रपाका बीचमा एकीकरण हुन लागेको हो। उनीहरुले एकीकरणको मोडालिटीका विषयमा सहमतिमा पुगेको जनाएका छन्। राप्रपा प्रजातान्त्रिकका नेता बिक्रम पाण्डेले दुई राप्रपाबीचको एकता सभा आगामी १८ गते हुने जानकारी दिए। स्पेसखबरसँग भने ‘एकताको विषयमा हामी सहमतिमा पुगेका छौं, यसबारे औपचारिक घोषणा १८ गते गर्छौं’।

केही समय अघि पनि प्रजातान्त्रिक एबं राष्ट्रवादी शक्ति एक हुनुपर्ने भन्दै तीन वटा राप्रपाले एकीकरणको प्रयास थालेका थिए। वार्ता समिति बनाएर करिब करिब सहमतिमा पुगेको र औपचारिक घोषणा सभाको आयोजना गरिसकिएका बेला वार्ता भंग भएको थियो।

हिन्दू राष्ट्रका विषयमा तीन वटै दल सहमत भए पनि चुनाव चिन्हका विषयमा मतभेद देखिएको थियो। कमल थापा नेतृत्वको राप्रपाले गाई चुनाव चिन्ह हुनुपर्ने अडान राख्दा अरुले गाईको विकल्प खोज्नुपर्ने बताएपछि थापा सहितको एकीकरण विथोलिएको हो।

प्रतिक्रिया दिनुहोस