पूर्व प्रधानमन्त्रीद्वयको नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याउने सरकारको निर्णय

सरकारले प्रर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई समेत संघ मातहत ल्याउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना पूर्वसभापतिद्वयको नाममा रहेका अस्पतालको स्वामित्व संघले लिनु पर्ने माग गर्दै  संघीय संसदका दुवै सदन अवरुद्ध पार्दै आएको थियो । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कांग्रेसको माग पूरा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यद्यपि ती अस्पतालको नाममा भने बैठकमै केही मन्त्रीले आपत्ति जनाएको स्रोतको भनाई छ । कांग्रेसले तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार भन्दा बाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गर्दै संघीय संसद् बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले आफ्ना नेताको योगदानको अवमूल्यन गरेको र सहमतीय सरकार भएको बेला सञ्चालन अनुमति दिएको अस्पताललाई विघटन गर्न लागेको आरोप कांग्रेसको छ । स्वास्थ्य मन्त्रालयले संघीय सरकार मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि मन्त्रीपरिषद्मा पठाएका विभिन्न ११ अस्पतालमध्ये यी दुई अस्पताललाई सरकारले प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । सो सहित बिभिन्न ६ वटा माग गर्दै कांग्रेसले आगामी २१ गतेबाट देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ । दुवै अस्पताललाई केन्द्र मातहत ल्याउने सरकारी निर्णयपछि संसदको अवरोध अन्त्य हुने विश्वास सरकारको छ ।

प्रतिक्रिया दिनुहोस